Breaking News.... EverestOnlineKhabar
April 29, 2026

धनगढी प्रिमियर लिग : विराटनगर किंग्सको दोस्रो जित

Loading

विराटनगर किंग्सले धनगढीमा जारी सर्वाधिक पुरस्कार राशिको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा दोस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा सिवाइसी अत्तरियालाई ८ विकेटले पराजित गर्दै विराटनगरले दोस्रो जित निकालेको हो ।
अञ्चल प्रहरी मैदानमा अत्तरियाले प्रस्तुत गरेको ९३ रनको लक्ष्य विराटनगरले ११ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो । विराटनगरको जितमा आसिफ शेख र दीपेन्द्र सिंह एरीले उत्कृष्ट पारी खेल्दै ६७ रनको साझेदारी गरे  । आसिफले अविजित ४६ तथा दीपेन्द्रले अविजित २६ रन जोडे । विराटनगरको ओपनरद्वय अमित श्रेष्ठ र आकाश थापा मात्र १ – १ रनमा पेभेलियन फर्किए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा अलआउट हुँदै ९२ रन बनाएको थियो । अत्तरियाका लागि मेहबुब आलमले २७ तथा करण केसीले १७ रन बनाए। यस्तै कप्तान ज्ञानेन्द्र मल्ले १४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उलेख्य रन जोड्न सकेनन् ।  विराटनगरका सन्दीप लामिछानेले ३ तथा जितेन्द्र मुखियाले २ विकेट लिए ।
जितसँगै विराटनगर ३ खेलबाट ४ अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लेको छ । यसअघि पहिलो खेलमा टिम चौराह धनगढीलाई हराएको विराटनगर दोस्रो खेलमा काठमाडौं गोल्डेन्ससँग पराजित भएको थियो । यस्तै २ अंक जोडेको अत्तरिया पाँचौ स्थानमा छ । अत्तरियाको यो लगातार दोस्रो हार हो। पहिलो खेलका काठमाडौं गोल्डेन्सलाई हराएको अत्तरिया दोस्रो खेलमा रुपन्देहीसँग पराजित भएको थियो ।
धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडेमीको संयुक्त आयोजनमा आगामी वैशाख ९ गतेसम्म चल्ने चौथो संस्करणको डीपीएल क्रिकेटमा ६ टिमको सहभागिता रहेको छ । विजेताले ट्रफी तथा १५ लाख नगद पाउनेछ । त्यस्तै उप–विजेताले भने ७ लाख पाउनेछ । प्रतियोगितामा हरेक खेलको म्यान अफ द म्याचले १० हजार र म्यान अफ द सिरिजले मोटरसाइकल पुरस्कार पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed