![]()
काठमाडौँ | निर्वाचन आयोगले व्यवसायी दुर्गा प्रसाईंविरुद्ध कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ। प्रसाईंले एक अन्तर्वार्ताका क्रममा “निर्वाचन आयोगले ५२ करोड रुपैयाँ बुझेर गगन थापालाई चुनाव जिताएको” भन्ने गम्भीर र आपत्तिजनक आरोप लगाएपछि आयोगले यो कदम चालेको हो।
व्यवसायी प्रसाईंले सार्वजनिक रूपमा निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै ठुलो आर्थिक लेनदेन भएको दाबी गरेका थिए। उनले काठमाडौँ क्षेत्र नं. ४ का सांसद एवं नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई जिताउन आयोगले मोटो रकम लिएको अभिव्यक्ति दिएका थिए।
आयोगको ठहर, संस्थाको साख गिराउने प्रयास
निर्वाचन आयोगले प्रसाईंको उक्त अभिव्यक्ति पूर्णत, निराधार, भ्रामक र संस्थाको छवि धमिल्याउने नियतले प्रेरित भएको ठहर गरेको छ। आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ
“कुनै वस्तुगत प्रमाण बिना संवैधानिक निकाय र त्यसका पदाधिकारीको मानमर्दन हुने गरी दिइएको यस्तो अभिव्यक्तिले लोकतान्त्रिक प्रणाली र निर्वाचनको विश्वसनीयतामाथि नै प्रहार गरेको छ। तसर्थ, विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाहीका लागि प्रहरीलाई पत्राचार गरिएको छ।”
आयोगको पत्राचारसँगै अब साइबर ब्युरोले प्रसाईंको सो भिडियो र अभिव्यक्तिको प्राविधिक जाँच गर्नेछ। दोषी ठहरिएमा ‘विद्युतीय कारोबार ऐन, २०६३’ बमोजिम जरिवाना र जेल सजाय हुन सक्ने प्रावधान रहेको छ।
यसअघि नै सांसद गगन थापाको सचिवालयले पनि प्रसाईंको उक्त दाबीलाई “पागलपनको पराकाष्ठा” भन्दै खण्डन गरिसकेको छ। चुनावी परिणामलाई लिएर यस्ता भ्रामक हल्ला फैलाउनु मतदाताको अपमान भएको सचिवालयको भनाइ छ।


