![]()
काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको बहसले उत्कर्ष रूप लिएको छ। पार्टीको वर्तमान कार्यशैली र भविष्यको दिशालाई लिएर संस्थापन र इतर पक्षबीच रस्साकस्सी चलिरहेका बेला विशेष महाधिवेशन पक्षधर नेताहरूले अबको सबै निर्णय ‘महाधिवेशन प्रतिनिधि’कै हातमा रहेको बताएका छन्।
everestonlinekhabar.com सँगको विशेष कुराकानीमा विशेष महाधिवेशन पक्षधर नेता बलदेव तिमिल्सिनाले विशेष महाधिवेशनमा नीति परिमार्जन गर्ने कि नेतृत्व नै बदल्ने भन्ने विषय अहिले व्यापक छलफल र बहसकै क्रममा रहेको जानकारी दिए।
बन्द सत्रको निष्कर्ष नै सर्वोपरि
नेता तिमिल्सिनाका अनुसार पुस २७ गते हुने बन्द सत्र नेपाली कांग्रेसको आगामी राजनीतिक मार्गचित्र कोर्न निर्णायक हुने देखिन्छ। उनले भने, “मुख्य कुरा महाधिवेशन प्रतिनिधिहरूले के भन्नुहुन्छ र के चाहनुहुन्छ भन्नेमा निर्भर रहन्छ। पुस २७ गते हुने बन्द सत्रको हलले के निष्कर्ष निकाल्छ, हामी त्यसकै पर्खाइमा छौं।”
उनले निर्वाचन गर्ने वा नगर्ने, कस्तो नीति लिने र आगामी निर्वाचनमा कांग्रेस एक्लै भिड्ने कि गठबन्धन गर्ने भन्ने जस्ता गम्भीर प्रश्नको जवाफ पनि महाधिवेशन प्रतिनिधिहरूले नै छलफलबाट टुंग्याउने स्पष्ट पारे।
सभापतिलाई ‘सेफ ल्यान्डिङ’को प्रस्ताव
पार्टीभित्र बढ्दो विवादलाई साम्य पार्न तिमिल्सिनाले सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको अपनत्व लिन आग्रह गरेका छन्। परिस्थितिलाई सुरक्षित अवतरण गराउन सभापति आफैं महाधिवेशनमा सहभागी भई सर्वसम्मत रूपमा निकास खोज्नुपर्ने उनको तर्क छ।
तर, पार्टी नेतृत्वले देखाएको व्यवहारप्रति उनले असन्तुष्टि समेत व्यक्त गरे। “सभापतिले विशेष महाधिवेशन आयोजना गरोस् भन्ने पक्षमा हामी अझै छौं। तर, मुख्य सचिवमार्फत विज्ञप्ति निकाल्न लगाएर महाधिवेशन प्रतिनिधिलाई धम्क्याउने र चेतावनी दिने काम भइरहेको छ, जसले विवादलाई झन् बढाएको छ,” तिमिल्सिनाले everestonlinekhabar.com लाई बताए।
नयाँ पुस्ताको खोजी र विधि निर्माण
विशेष महाधिवेशन माग गर्नुको मुख्य उद्देश्य समयसापेक्ष कांग्रेस निर्माण गर्नु रहेको उनले प्रस्ट पारे। तिमिल्सिनाका अनुसार महाधिवेशन प्रतिनिधिहरूले निम्न मुख्य बुँदामा केन्द्रित रहेर विशेष महाधिवेशनको माग गरेका हुन्:
नीति र नेतृत्वको परिमार्जन: बदलिँदो राजनीतिक परिवेशलाई हाँक्न सक्ने गरी नीति र नेतृत्व दुवैलाई समयानुकूल बनाउने।
विधि निर्माण: पार्टी सञ्चालनका लागि आवश्यक ठोस विधि र विधानका कतिपय प्रावधानहरूको परिमार्जन।
नयाँ पुस्ताको उदय: पार्टीको माथिल्लो तहमा नयाँ पुस्ताको नेतृत्वदायी र हस्तक्षेपकारी उपस्थिति सुनिश्चित गर्ने।
पुस २७ गते बेलुकीसम्मको घटनाक्रमले नेपाली कांग्रेसभित्रको शक्ति सन्तुलन र भावी कार्यदिशा तय गर्ने निश्चित छ। नीति मात्रै परिवर्तन हुने कि नेतृत्वको पनि फेरबदल हुने भन्ने कुराको फैसला अब बन्द सत्रको हलमा रहेका प्रतिनिधिहरूकै विवेकमा छोडिएको छ।


