![]()
६ महिनाभित्र निर्वाचन गराउने मुख्य म्यान्डेटसहित गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्रीहरू एकपछि अर्को विवादमा तानिएका छन्। यसैबीच, ‘जेन जी’ (Gen Z) आन्दोलनको जगबाट मन्त्री बनेका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता ‘नक्कली निम्तो’ अनुमोदन गराएर अमेरिका उड्ने तयारी गरेपछि नयाँ विवाद सिर्जना भएको छ।
के हो ‘नक्कली निम्तो’ प्रकरण ?
मन्त्री गुप्ता आगामी माघ ३ गते संयुक्त राज्य अमेरिकामा आयोजना हुने भनिएको “रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेन–जी” सम्बन्धी कार्यक्रममा सहभागी हुन जान लागेका हुन्। मन्त्रिपरिषद्को बैठकले उनको यो भ्रमण स्वीकृत समेत गरिसकेको छ।
तर, उक्त कार्यक्रमको आयोजक र निम्तोपत्र नै शङ्कास्पद रहेको पाइएको छ। स्रोतका अनुसार, आफ्ना निकटस्थ सहयोगीहरूलाई अमेरिका पुर्याउने ,उद्देश्यले नक्कली आयोजक खडा गरी निम्तो मगाइएको र त्यसैलाई सरकारीस्तरबाट अनुमोदन गराइएको आरोप लागेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा प्रत्यक्ष चुनाव लड्ने तयारीमा रहेका र राजनीतिक दलमा आबद्ध भएका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसक्नुभएको छ। मन्त्री गुप्ता पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग नजिक रहेको र चुनाव लड्ने तयारीमा रहेको चर्चा छ।
प्रधानमन्त्रीको राजीनामा दिने आग्रहलाई स्वीकार गरे पनि मन्त्री गुप्ताले “अमेरिका भ्रमण सकेर फर्केपछि मात्र राजीनामा बुझाउने” अडान लिएका छन्। निर्वाचन गराउने म्यान्डेट पाएको सरकारको मन्त्री नै विवादास्पद भ्रमणमा केन्द्रित हुनुले सरकारको नैतिकतामाथि प्रश्न उठाएको छ।
विवादको घेरामा अन्तरिम सरकार
यो सरकार गठन हुँदा सुशासन र पारदर्शिताको ठूलो आशा गरिएको थियो। तर, पछिल्ला दिनहरूमा मन्त्रीहरूको कार्यशैलीले गर्दा आलोचना बढ्दो छ
मानव तस्करीको जोखिम,यसअघि कोशी प्रदेशका मन्त्री लीलाबल्लभ अधिकारी जस्तै मन्त्री गुप्ताले पनि दलबलसहित विदेश उड्न लागेको भन्दै आलोचना भइरहेको छ।
निर्वाचन म्यान्डेटको उपेक्षा, ६ महिनाभित्र चुनाव गराउनुपर्ने मन्त्रीहरू चुनावको तयारी भन्दा वैदेशिक भ्रमण र दलीय राजनीतिमा बढी सक्रिय देखिएका छन्।
संस्थागत विचलन,मन्त्रिपरिषद्ले गम्भीर छानबिन नगरी यस्ता भ्रमणहरूलाई स्वीकृति दिनुले सरकारकै साख गिराएको विश्लेषकहरूको ठहर छ।
‘जेन जी’ पुस्ताको प्रतिनिधित्व गर्दै मन्त्री बनेका गुप्ता नै यस्तो गम्भीर विवादमा मुछिएपछि सामाजिक सञ्जालमा युवाहरूले आक्रोश व्यक्त गरिरहेका छन्। के प्रधानमन्त्री कार्कीले यो विवादास्पद भ्रमण रोक्नुहोला वा मन्त्री गुप्ता अमेरिका उड्लान? यो अहिले चासोको विषय बनेको छ।


