दिवेश बने अमेरिकन आइडलको ‘फस्ट रनरअप’

657 total views, 3 views today

काठमाडौँ – अमेरिकन आइडलको १८ औँ सिजन सामान्य भन्दा फरक रह्यो । विश्व कोरोनाको भाइरस महामारीले आक्रांत बनेको बेलामा विश्वभर भएका नेपालीलाई एक प्रकारको खुसी मिल्यो । नेपाली मुलका गायक दिवेश पोखरेल चर्चित गायन रियालिटि शो ‘द अमेरिकन आइडल’ को ‘फस्ट रनरअप’ भए ।

यो पहिलो घटना हो, जहाँ अमेरिकन मञ्चमा भएको गायन प्रतियोगितामा नेपाली कलाकार यति माथि पुगेका छन् । २२ वर्षका दिवेश पोखरेल जसलाई आम सांगीतिक समाजले ‘आर्थर गन’ भनेर चिन्छन्, अब उनी नेपालीको मनमा मात्र सीमित छैनन्, विश्वभर भएका संगीत प्रेमीको मनमा बसेका छन् । र यो यात्रा अप्रत्याशित भयो, अमेरिकन आइडलको मञ्चबाट । सन् २०२० को मे १८ मा दिवेश अमेरिकन आइडलको फिनालेमा पुगे र फस्ट रनरअप भए ।

शायद यही दिनको लागि दिवेश काठमाडौँबाट अमेरिकाको ‘कान्सस’ राज्यमा पुगे, परिवारसाथ । अमेरिकन आइडलको मञ्चमा पुगे अनि आफ्ना सबै ‘कम्र्फट जोन’ तोडे । पहिलो प्रस्तुतिमा निर्णायकबाट प्रतिक्रिया पाए, ‘यू आर द रक स्टार’। निर्णायक प्रतिष्ठित संगीतकर्मी केटी पेरी, ल्यूक ब्रायन र लाइनो रिचीहरुले उनलाई सुरुको दिन देखि नै रुचाएका थिए । तीन महिना अगाडि पहिलोपल्ट सुरु भएको दिवेशको यो यात्रा अहिले फस्ट रनरअप सम्म आइपुगेको छ । उनी थोरै मानिसको समूहबाट लाखौँ, करोडौँको चासोको विषय बनेका छन् ।

अमेरिका जानु अगाडि दिवेश नेपाली संगीतमा काम गरिरहेका थिए, उनको जन्म नै काठमाडौँमा भएको हो । उनको एउटा एल्बम आएको थियो । सन् २०१८ मा उनले गाएको गीत हालै यूट्यूबमा भेट्न सकिन्छ । सन् १९९७ मा जन्मिएका दिवेशले सन् २००५ देखि गाउँन थालेका हुन्, जतिबेला उनी जम्मा ८ वर्षको मात्र थिए । एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘मलाई पहिलोपल्ट मेरी आमाले गीतार ल्याइदिनुभएको हो, म रेडियोमा, टेलिभिजनमा हेरेर गीत गाउन सिक्थे । मेरो सपना यसरी सुरु भयो ।’

ठूलो हुँदै जाँदा संगीतप्रतिको उनको मोह बढ्दै बढ्दै गयो । पहिला पहिला केही समयमात्र संगीतमा जोडिने दिवेश किशोर अवस्थामा आइपुगेपछि धेरै समय संगीतलाई दिन थाले । उनले संगीतमा सपना देख्न थाले केही प्राप्त गर्ने । भनिन्छ उनको एक अभिभावक दिवेशले रोजेको यो बाटोको पक्षमा थिएनन् । तर पनि दिवेश गीत गाउँदै हिँड्न थाले, महोत्सवमा सहभागी हुन थाले । दिवेशलाई नेपाली लोक भाकाको पनि राम्रै ज्ञान छ । अहिले उनका परिवार पनि खु्शी छन् ।

उनी आउँदो पिँढीलाई प्रेरणा दिन चाहन्छन् । प्रतियोगीता कै समयमा उनले भनेका थिए, ‘म विश्वभरमा भएका सबै युवा पिँढीलाई प्रोत्साहन गर्न चाहन्छु ।’ यो भन्दा अगाडि नेपाली मुलका प्रशान्त तामाङ ‘इन्डियन आइडल–२००७’ मा सहभागी भएका थिए । प्रशान्तलाई जिताउन नेपाली लागेको थियो । अहिले दिवेशलाई पनि विश्वभर रहेका नेपाली अनि गैर नेपालीले साथ दिएका छन् । नेपाली ‘रक म्यूजिक’ विकासमा दिवेशसँग आशा जोडिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

सूचना, परिवर्तन र सम्रिद्धीको लागि संचार