![]()
२०७७ बैशाख १०, काठमाडौँ – रामेछापको मन्थलीमा मिनीबस दुर्घटना हुँदा कम्तिमा २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । काठमाडौँबाट दोलखाको जफेका लागि छुटेका बा २ ख ६८१८ नम्बर मिनीबस मन्थली नगरपालिका–६ कुनौरी मोडमा बुधबार बिहान ४ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते मध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । केही घाइतेलाई काठमाडौँको ट्रमा सेन्टर रिफर गरिएको छ । केही सामान्य घाइते भने उपचारपछि डिस्चार्ज भएका छन् । बाँकी घाइतेको तामाकोशी सहकारी अस्पताल मन्थलीमा उपचार भइरहेको छ । गाडीमा बालबालिकासहित करिब ४० जना सवार रहेको बताइएको छ । ब्रेक फेर भएर गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । रासस


