![]()
काठमाडौं । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरणका बेला नियतवशः छुटाइएका र अन्यायपूर्वक पार्टी वरियतामा पनि पछि पारिएका पूर्व प्रधानमन्त्री एवम नेकपाका वरिष्ठ नेता झलनाथ खनाल पार्टीमा बलियो हुने अवस्थामा पुगेका छन । उनी बलियो हुन लागेको आफैले कुनै तिकडम गरेर नभई धैर्यतका कारणले हो । मन भित्रको आगो मन भित्रै राखेर शान्तपूर्वक बस्न सक्नु नै उनको शक्ति बन्न पुग्यो ।
चीनमा उपचार गर्न गएकाबेला पार्टी एकीकरण गरेको र त्यस्तै मौका पारी वरियतामा पनि आफूलाई माधव नेपाल भन्दा पछि राखेपछि उनले सार्वजनिकरुपमै असन्तुष्टि पोख्दै आए । तर, उनले पार्टीलाई नोक्शन पुर्याउने कुनैपनि गतिविधि गरेनन । जे जति गरे पार्टी बैठक र नेताहरुसंगको भेटमा गरे । यो खनालको लोकतान्त्रिक चरित्र थियो ।
उनलाई पार्टी भित्रैबाट अष्टलक्ष्मी शाक्य, अमृत बोहरा, युवराज ज्ञवाली, भीम रावल, घनश्याम भुषाल, योगेश भट्टराई लगायतको साथ रहेको थियो तथापी पार्टी भित्र गुटउपगुट सृजना गर्ने, नेताहरुकाबिरुद्ध नेता उभ्याउने लगायतका कुनैपनि काम उनले गरेनन । पार्टी बैठकमा सहभागी भए, संसदमा गए, सार्वजनिक कार्यक्रममा पनि पार्टी हीतमै बोले, सरकारलाई सफल बनाउन आवश्यक सुझाव सल्लाह पनि स्वस्थरुपमा सार्वजनिक ठाउँमै दिए । यो उनको पारदर्शीता र स्वच्छ छविको प्रमाण थियो ।
आफूलाई राष्ट्रवादी हुँ भन्ने नेताहरुले नागरिकता ऐनमा चुँइक्क पनि गर्न नसकेकाबेला नेता खनालले दहे अडान लिए । भारतीय नागरिकलाई नागरिकता दिने गरी बिधेयक संशोधन गर्ने तयारी भएपछि उनले त्यसको कडा बिरोध गरे । उनको अभिव्यक्तिपछि सत्तारुढ नेकपाको शीर्ष तहमा मात्र नभई जिल्लाजिल्लामा पनि संशोधन गर्न लागिएको प्रावधानमा मानिसहरुको चासो बढ्यो । त्यसपछि उनीहरुले सरकारका मन्त्री र सांसदहरुलाई खबरदारी गर्न भ्याए । यसमा खनालको ठूलो देन थियो ।
अहिले नेकपाकै अर्का वरिष्ठ नेता माधव नेपालले पार्टीका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल देश बाहिर रहेकाबेला चलखेल गर्न खोजेका छन। उनले संसदमा सरकारप्रति तीव्र असन्तुष्टि जनाएको भोलिपल्ट नयाँबानेश्वरस्थित एक होटेलमा चियापानका नाममा नेताहरुको भेला बोलाए । सो भेलामा बामदेव गौतम पनि उपस्थित थिए । चुनावमा हारेपछि रन्थनिएका गौतमले नेपालको भेलामा सहभागितामा जनाएर ओली र प्रचण्डलाई मज्जाले चस्का दिए । सो भेलामा प्रचण्ड र ओली निकट थुप्रै नेता सहभागि भएनन । जति आए कुरा बुझेर ओली र प्रचण्डलाई सूचना पुर्याउने उद्देश्यले मात्र आए ।
उता, झलनाथ खनालले आफू धुलिखेलमा रहेको बताउँदै नेपालको भेला बहिष्कार गरे । मौका परेसम्म ओली र प्रचण्डसंग मिल्ने, एक्लिन थालेपछि सम्झिने नेपालको बानी खनाललाई मन परेन । राष्ट्रपति चयनका बेला नेता नेपाल र गौतमले दिएको चोट खनालको मन मष्तिष्कमा अझै ताजै छ । उनले धुलिखेलबाटै आफू नेकपाको गुटमा रहेको र आवश्यक परे आफैले गुट बनाउने जवाफ नेता तथा संचारकर्मीहरुलाई दिएका थिए । यसबाट नेता नेपालको मनपनि अमिलिएको छ ।
नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच हाल आपसमा शंका बढेको छ । भारत र चीन भ्रमणबाट फर्किएपछि दाहाल सरकारप्रति बढी नै आक्रामक देखिएका छन । उनले अमेरिकाबाट प्रधानमन्त्री फर्किए लगत्तै सरकार र मन्त्रीकाबारेमा निर्णायक कुरा गर्ने जनाउ दिसकेका छन ।यहीबेला माधव नेपाल पनि सरकारप्रति आक्रामक हुनु संयोग मात्र होइन । पार्टीको भावी अध्यक्षका लागि प्रचण्ड र नेपाल दुवैलाइ ललिपप देखाएर आनन्द लिइरहेका ओली अहिले झस्किएका छन । प्रचण्ड र नेपाल दुवै एकपटक आफूप्रति आक्रामक भएपछि अमेरिकामा रहेका प्रधानमन्त्री ओली बेचैन छन । यसैले, बिगतमा जे जस्तो भएपनि हाल तीन नेताबीचको त्रिकोणात्मक सम्बन्धमा दरार उत्पन्न भैसकेको छ । यस्तोबेला, शान्त र संयम भर बसेका नेता खनालप्रति आम कायकर्ताको अभिरुची बढेको छ ।उनीहरुले खनाललाई अघि बढन बिभिन्न तवरले अनुरोध गरिरहेका छन ।
धुलिखेलबाट अर्को गुट बनाउन सक्छु भन्ने खनालको अभिव्यक्ति हचुवाको भरमा आएको होइन ।


