![]()
काठमाडौं। सवारी चापका कारण आक्रान्त कोटेश्वर–जडीबुटीको समस्या अस्थायी रुपमा समाधान गर्न हनुमन्ते नदी तथा मनोहरा नदीको दोभानमा तिहारअघि नै बेलिब्रिज सञ्चालनमा आउने भएको छ। उक्त स्थानमा अरनिको राजमार्गको वैकल्पिक सडकका रुपमा हनुमन्ते तथा मनोहरा नदीको करिडोर निर्माण अघि बढिरहेका छन्। त्यस्तै पेप्सीकोलादेखि सल्लाघारीसम्म पनि अरनिको राजमार्गको वैकल्पिक सडकका रुपमा सडकको चौडाइ बढाउने कार्य बोलपत्र आह्वान भई निर्माण अघि बढिरहेको छ।
राजमार्गको सवारी चाप न्यूनीकरण गर्न विभिन्न काम अघि बढे तापनि केही मात्रामा स्थानीयवासी तथा सरोकार भएका व्यक्तिले निर्माणमा अवरोध गर्ने कार्य गरिरहेका छन्। सरकारले उचित क्षतिपूर्ति नदिएसम्म निर्माण अघि बढाउन नदिने भन्दै पटक पटक आन्दोलन भइरहेका छन्।
सांसद महेश बस्नेतको विशेष पहलमा सडक विभाग केन्द्रीय कार्यालय ललितपुरका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठ, पिआइडी दिवाकर ढकाल, स्थानीय जनप्रतिनिधि तथा सरोकार निकायसहितको आइतबार साँझ भएको स्थलगत निरीक्षणपछि बेलिब्रिज बनाइने बताइएको हो।


