![]()
काठमाडौं। नेपाली कांग्रेसले आफ्नो विधानलाई संघीयताअनुसार परिमार्जनको प्रक्रिया थालेको छ। विधान संशोधनका लागि प्रराम्भिक मस्यौदा तयार भएको कांग्रेस विधान संशोधन समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए।
शनिवार पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी संयोजक खड्काले प्रारम्भिक मस्यौदा तयार भएको जानकारी दिएका हुन्। बुधवार समितिको बैठकले प्रारम्भिक मस्यौदा सर्वसम्मतबाट पारित भएको थियो।
मस्यौदामा जिल्ला जिल्लाबाट प्राप्त सुझाव, हेटौंडामा भएको सभापतिहरूको भेलाबाट प्राप्त भएको सुझाव र जनताहरुबाट सीधै प्राप्त सुझावलाईसमेत समेटिएको समितिका प्रवक्ता एवं केन्द्रीय सदस्य रमेश लेखकले बताए।
तीनै तहको निर्वाचनमा हार व्यहोरेको कांग्रेसले आगामी निर्वाचनमा आफू पहिलो हुने गरी विधान संशोधन गर्ने तयारी गरेको छ। विधानमा वीपीका विचारलाई निरन्तरता दिँदै संघीयताबमोजिमका संरचनाहरुसमेत समावेश गरिने छ। पार्टीमा केन्द्रीय समितिदेखि गाउँ टोल समितिसम्म ८ वटा तह निर्माण हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो।
महामन्त्री खड्काले यसपटकको विधान पार्टीलाई पहिलो बन्ने गरी संशोधान हुने दाबी गरे। उनले भने, ‘एक नम्बर पार्टी बनाउन आवश्यक जनमुखी कार्यक्रम विधानमा ल्याउनेछौं।’ जनताले चाहेका विषयलाई नै विधानमा समावेश गर्ने प्रतिवद्धता उनको थियो।


