![]()
काठमाडौं ।चिकित्सकहरुको माग अनुसार मुलुकी ऐन संशोधन गर्न सरकार तयार भएको छ। सोमबार भएको वार्तामा भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनको फौजदारी संहिताको इलाजसम्बन्धी व्यवस्था संशोधन गर्न सरकार तयार भएको हो।
मुलुकी अपराध संहिताको इलाजको महलमा बिरामीको उपचारमा लापरबाही गरेमा चिकित्सकलाई जन्मकैदको व्यवस्था छ। यसकै विरोधमा नेपाल चिकित्सक संघको नेतृत्वमा चिकित्सकहरु ऐन संशोधन गर्न माग गर्दै आन्दोलनमा उत्रिएका हुन्। स्वास्थ्य राज्यमन्त्री डा. सरेन्द्र यादव र आन्दोलनरत चिकित्सकका प्रतिनिधिबीच भएको वार्तामा सरकारले ऐन संशोधन प्रक्रिया अघि बढाउने सहमति जनाएको हो।
राज्यमन्त्री यादवले चिकित्सकको माग बमोजिम ऐन संशोधनका लागि प्रक्रिया अघि बढाउने सहमति भएको बताए। उनका अनुसार कानुन मन्त्रालयसँग समन्वय गरेर कानुनको ड्राफ्ट गरेर संसदमा संशोधनका लागि पेश गरिने छ। राज्यमन्त्री यादवले भोलिसम्म चिकित्सकहरुले आन्दोलन फिर्ता लिने विश्वास व्यक्त गरे।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले राज्य मन्त्री यादवले मुलुकी अपराध संहितामा भएका कमजोरीलाई संशोधन गर्ने प्रतिबद्धता जनाएको बताए। श्रेष्ठले संशोधन प्रस्ताव संसदमा पेश नभएसम्म आन्दोलनका कार्यक्रम जारी राखिने बताए।


