![]()
बीबीसी । पाकिस्तानले चेनाब नदीमा भारतद्वारा निर्माणाधीन दुई परियोजनामध्ये एउटामा आपत्ति जनाएको छ। भारतले जलविद्युत् परियोजना अन्तर्गत चेनाब नदीमा दुईवटा बाँध निर्माण गरिरहेको छ। ४८ मेगावाट क्षमताको लोअर कालनाइ र १,५०० मेगावाट क्षमताको पाकल दुल परियोजना निर्माण भइरहेका हुन्।
पाकल दुल बाँधलाई लिएर चिन्तित बनेको पाकिस्तानले भारतीय परियोजना सिन्धु जल सम्झौता विपरीत भएको बताएको छ। पाकिस्तानका अनुसार पाकल दुल बाँधको उचाइ १,७०८ मिटर हुनसक्छ, जसका कारण पाकिस्तान पुग्ने पानीको मात्रा कम हुनसक्छ। उक्त बाँधको निर्माणसँगै भारत आफ्नो इच्छा अनुसार पानी रोक्न वा छोड्न सक्षम हुने पाकिस्तानको भनाइ छ।
सिन्धु जल सम्झौता अनुसार चेनाब नदीमा बाँध निर्माण गर्नु परेमा काम शुरू हुनुभन्दा करिब ६ महिना पहिले भारतले पाकिस्तानलाई जानकारी गराउनुपर्छ। सिन्धु जल सम्झौतासँग जोडिएका विषयमा कुराकानी गर्न भारतीय प्रतिनिधिमण्डल अहिले पाकिस्तानको लाहोरमा छ।
पानीको बाँडफाँटलाई लिएर दुई देशबीच भएको यो ११५ औँ द्विपक्षीय वार्ता हो। यसअघि दुई देशका अधिकारीहरूले गत मार्चमा छलफल गरेका थिए।


