![]()
काठमाडौ,भदौ ।
बिमस्टेक राष्ट्रहरुबीच बिजुली आदान–प्रदानका लागि अन्तरदेशीय बिजुली प्रसारणलाइनको सञ्जाल निर्माण गर्नेबारे समझदारी हुने भएको छ । बिमस्टेकका ७ राष्ट्रबीच ग्रीड कनेक्टिभिटी (इन्टरकनेक्सन) बारे समझदारी हुने तय भएको हो । भदौ १४ र १५ गते काठमाडौंमा आयोजना हुने शिखर सम्मेलनपछि यो समझदारी कार्यान्यवन भएमा एक देशबाट अर्को देशमा ग्रीडहरु जोडिने छन् । यसबाट क्षेत्रीय स्तरमा विद्युत खरिद–बिक्रीका लागि बाटो खुल्नेछ ।
यसअघि सार्क राष्ट्रहरुबीच पनि यस्तो समझदारी भइसकेको छ । बिमस्टेक तहमा यस्तो समझदारी भएमा नेपालले म्यान्मार हुँदै थाइल्याण्डसम्म पनि विद्युत बेच्नका लागि पहुँच पाउने अवस्था बन्छ । हालसम्म नेपालले विद्युत् आदान–प्रदानका लागि भारत र बंगलादेशसँग मात्रै समझदारी गरेको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार बिमस्टेकका सबै सदस्य मुलुकलाई जोड्ने गरी ग्रीड कनेक्टिभिटीको समझदारी हुने लगभग तय भइसकेको छ ।
तर, यसअघि पनि सार्कस्तरमा भएको यस्तै सहमति कार्यान्यवनमा नआएकाले यसबाट धेरै उत्साहित हुने अवस्था चाहिँ नरहेको ऊर्जा विज्ञहरु बताउँछन् । क्षेत्रीय मञ्चमा प्रतिवद्धता जनाउने तर कार्यान्यवनका बेला खुट्टा कमाउने दक्षिण एसियाली प्रवृत्तिका बीचमा बिमस्टेकमा हुने ग्रीड कनेक्सनको समझदारी पनि कर्मकाण्डीमात्रै हुने आशंका ऊर्जाविद्हरुलाई छ ।


