![]()
काठमाडौ,भदौ ।
वाणिज्य विभागको अनुगमन टोलीले आज बल्खु तरकारी तथा फलफूल बजारमा अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश पसल अवैध रुपमा सञ्चालन रहेको पाइएको छ । प्यान दर्ता गरेर पसल सञ्चालन गर्नुपर्ने भए पनि अधिकांश पसल विना दर्ता सञ्चालन गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनका क्रममा खुलेको हो ।
विभागका निरीक्षण अधिकृत दीपक पोखरेलले अनुगमनका क्रममा अधिकांश पसल प्यान दर्ता बिनै सञ्चालन गरेको पाइएको जानकारी दिए । किसानसँग तरकारी खरिद गरेको मूल्य समेत व्यापारीले उल्लेख नगरेको पाइएको छ । प्यान दर्ताविनै पसल सञ्चालन तथा मूल्य नखुलाइ तरकारी बिक्री गरेको भेटेपछि विभागले व्यापारीसँगै बल्खु तरकारी तथा फलफूल बजार कम्पनीका सञ्चालकलाई भोलि छलफलका लागि बोलाएको छ ।
बल्खु कृषि तथा तरकारी बजार कम्पनीका सञ्चालक मोहन बस्नेतले पनि तरकारी पसलहरु प्यानमा दर्ता नरहेको पुष्टी गरे । अनुगमन टोली फर्किएलगत्तै व्यवसायीलाइ बोलाएर तत्काल प्यान दर्ता गर्न भनेको उनले दाबी गरे । बल्खु तरकारी बजारमा २ सय ७५ वटा पसल छन्, जसमध्ये ९८ प्रतिशत पसल प्यानमा दर्ता छैनन् । साथै एउटै तरकारीको विक्रि दर पनि पसलैपिच्छे फरक फरक पाइएको छ ।
यसैबीच, अनुगमनका लागि गएको सरकारी टोलीलाई अवरोध गर्न खोज्ने १ जनालाई प्रहरीले पक्रेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा सोमबार बिहान गएको अनुगमन टोलीलाई अवरोध गर्न खोज्ने रवि साहलाई कालीमाटी प्रहरीले पक्रेको हो । पक्राउ परेका साहलाई कालीमाटी प्रहरीमा राखिएको छ ।
विभागका निरीक्षण अधिकृत दीपक पोखरेलले अनुगमनमा गएको टोलीलाई १ व्यापारीले मात्रै अवरोध प्रयास गरेको र उनलाई प्रहरीको जिम्मा लगाइएको जानकारी दिए । यसअघि कालीमाटी तरकारी बजारको अनुगमनका लागि पुगेको विभागको टोलीलाई त्यहाँका व्यापारीहरुले अवरोध गर्दै रोकेका थिए ।

