Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

काठमाडौ,साउन ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) देशको चौतर्फी विकासमा सघाउन बिम्स्टेक विकास कोष स्थापना हुने भएको छ । त्यसैगरी संगठनको चौथो शिखर सम्मेलनको नारा ‘शान्त, समृद्ध र दिगोपनातर्फ उन्मुख बंगालको खाडी क्षेत्र’ निर्धारण भएको छ ।
राजधानीमा शनिबार सम्पन्न बिम्स्टेक मुलुकका परराष्ट्र÷विदेश÷बाह्य मामिला मन्त्रालयका वरिष्ठ अधिकारीहरुको विशेष बैठकले आगामी भदौ १४ र १५ गते काठमाडौँमा हुने चौथो शिखर सम्मेलनका निम्ति उक्त नारा निर्धारण गरेको हो । यद्यपि उक्त नारा र कोष स्थापनासम्बन्धी प्रस्ताव अनुमोदनका लागि बिम्स्टेक मन्त्रिस्तरीय बैठकमा प्रस्तुत हुनेछ । बिम्स्टेकको अध्यक्ष तथा चौथो शिखर सम्मेलन आयोजक देश नेपालले काठमाडौँ घोषणापत्रको मस्यौदालाई अन्तिमरुप दिन सदस्य देशसँग आजको बैठकमा छलफल गर्नुका साथै त्यसलाई परिष्कृत गर्ने भएको छ ।
स्थापनाको २२औँ वर्षमा प्रवेश गरेको यो उपक्षेत्रीय संगठनलाई प्रभावकारी एवं परिणामुखी तुल्याउन तथा सहयोगका मौजुदा १४ क्षेत्रको समीक्षा गर्दै खासखास क्षेत्रमा संगठनलाई केन्द्रित गर्नेबारेमा गहन विचारविमर्श भएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले बताउनुभयो । बिम्स्टेकको संरचना, संयन्त्र तथा कार्यसम्पादनका प्रावधान, सहयोगका क्षेत्र र उपक्षेत्रहरुको औचित्य तथा तिनको तर्कसंगत व्याख्या, संस्थागत संयन्त्र, सचिवालयको सुदृढीकरणका सम्बन्धमा पनि छलफल भएको उहाँले बताउनुभयो ।
बिम्स्टेकको दृश्यता, समान उद्देश्य र लक्ष्य भएका अन्य क्षेत्रीय एवं अन्तर्राष्ट्रिय संघसंगठनसँगको सहकार्यका साथै पूर्वाधार बैंक स्थापनाका निम्ति बिम्स्टेक विकास कोष खडा गर्ने विषयलाई पनि बैठकमा उच्च महत्वका साथ प्रस्तुत भएको सचिव वैरागीले जानकारी दिनुभयो ।
चौथो शिखर सम्मेलनको तयारीका सिलसिलामा भएको विशेष बैठकमा बिम्स्टेक विद्वत् व्यक्ति समूह (इपिजी) गठन, सदस्य राष्ट्रबीच ऊर्जा सहयोग तथा ग्रिड इन्टरकनेक्शन, बिम्स्टेक चार्टर निर्माणका सम्बन्धमा पनि सातैदेशका अधिकारीबीच विचार आदानप्रदान भएको थियो ।
चौध क्षेत्रमा छरिएका सहयोगका क्षेत्र अब व्यापार तथा लगानी, जल, स्थल र नभमार्गबाट सम्पर्क स्थापना तथा त्यसको सुदृढीकरण, जलवायु परिवर्तन र गरिबी घटाउनेजस्ता अधिक महत्वका खासखास विधामा केन्द्रित हुनेमा बैठकमा मतैक्यता प्रकट भएको बताइएको छ ।
दक्षिण तथा दक्षिणपूर्वी एशियाली मुलुकहरुको उपक्षेत्रीय संगठन बिम्स्टेक समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य देशको आर्थिक वृद्धि र सामाजिक समृद्धि संयुक्तरुपमा हासिल गर्ने उद्देश्यले स्थापना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.