![]()
काठमाडौ,साउन ।
सिन्धुपाल्चोक ज्यामिरे घर भई काठमाडौं, काँडाघारी बस्ने ११ बर्षिय निशान खड्का अपहरणकारीले अपहरण गरी हत्या गरेका छन् । अपहरण र हत्या प्रकरणको एउटा ज्वलन्त प्रश्न सतहमा आएको छ, प्रहरीले अपहरित बालक किन जोगाउन सकेन ? निशान आइतबार अपहरणमा परेका थिए। साँझ करिब ७ बजे घरबाट खेल्न भनेर निस्किएका थिए उनी। राती ९ बजे उनकी आमा चमेलीलाई अपरिचित नम्बरबाट फोन गरी छोरा अपहरणमा परेको भन्दै फिरौती मागियो।
लगत्तै ठूलो संख्यामा प्रहरी अनुसन्धानमा खटियो। फिरौती माग्दै ठिमी क्षेत्रबाट फोन गरिएको थियो। सो क्षेत्रमा ठूलो संख्यामा प्रहरीले सर्च अप्रेसन चलायो। अपहरणकारीको मोबाइल अफ थियो। उनीहरुले २ पटक फोन गरेका थिए। पछिल्लो पटक ४० लाख रुपैयाँ फिरौती मागेका थिए।
बालकको परिवारको अवस्थामा ४० लाख फिरौती दिनसक्ने देखिन्न। तर, पनि बुबा विदेशमा कार्यरत रहेकाले पैसा भएको ठानेर उनीहरुले अपहरण गरेको हुनसक्ने प्रहरी आशंका थियो। ११ वर्षको बालकलाई कसैले जबरजस्ती उठाएर अपहरण गर्न कठिन नै थियो। चिनजानकै व्यक्तिले अपहरण गरेको हुनसक्ने आँकलनका आधारमा प्रहरीले अनुसन्धान अघि बढायो।
सोमबार बिहानैदेखि थप प्रहरी अनुसन्धानमा खटिए। प्रहरीको पहिलो प्राथमिकता बालकको उद्धार थियो। तर, अनुसन्धानको क्रममा जब बालक गाडिएको अवस्थामा फेला परे, अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरु स्तब्ध बने। अर्कोतर्फ फिरौती लिएर बच्चा छाड्दा पनि आफुहरुको पहिचान खुल्ने डरले हत्या भएको हुनसक्ने देखिन्छ। हातखुट्टा बाँधिएको तथा मुखमा कपडा कोचिएको अवस्थामा बालकको शव भेटिएको थियो।
ठूलो बच्चा भएकाले कोठामा बन्धक बनाएर राख्ने क्रममा रोएकाले उनीहरुले मुखमा कपडा कोचेर हातखुट्टा बाँधेका प्रारम्भिक अनुसन्धानमा देखिन्छ। बालकको हत्या गरेपछि प्रहरी पनि अपहरणकारीमाथि आक्रामक बनेका थिए। पक्राउ गर्न अपराध महाशाखाबाट डिएसपी रुगम कुँवर नेतृत्वको टोलीले उनीहरुलाई पिछा गरेको थियो। सूर्यबिनायकबाट पाइलट बाबा आश्रम जाने बाटोमा दोहोरा फायरीङ भएको प्रहरी दाबी छ। त्यही जंगलमा दुुवै अपहरणकारीको मृत्यु भयो। अपहरणकारीले पनि गोली हानेपछि जवाफी फायरीङ गरिएको महाशाखाद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ। अपहरणकारीबाट प्रहरीले दुई राउन्ड गोलीसहितको पेस्तोल बरामद गरेको छ।
अपहरण पूर्व योजनाअनुसार नै थियो। चमेलीको खाजाघरमा नियमित गइरहन्थे अपहरणकारीमध्ये एक गोपाल तामाङ। आइतबार पनि बिहान गएर उनले अनिशलाई एक हजार रुपैयाँको सामान्य मोबाइल किनेर दिएका थिए। साँझ बालकलाई बोलाएर उनले आफ्नो डेरामा लगेर बन्धक बनाएका हुन्। प्रहरीका अनुसार उनीहरु जून घरमा डेरा गरी बस्दथे सोही घरबेटीका छोराले नजिकै बनाइरहेको घरको पछाडी लगेर बच्चालाई गाडेका थिए।
दुवै अपहरणकारी रंग लगाउने काम गर्दथे। छिटो धनी बन्ने आकांक्षामा उनीहरुले एउटा अन्जान बालकको जीवन त चुंढे नै साथै त्यहीकारण आफ्नै जीवन समेत गुमाएका छन्।
क्रुर अपहरणकरीको इन्काउन्टरबाट प्रहरीले प्रशंसा पायो तर अपहरित बालक जोगाउन नसक्दा प्रहरीप्रतीको विश्वास भने बढाउन सकेन।


