![]()
काठमाडौ,साउन ।
नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटी अर्थात विवादित ठेकेदारले राजधानीका मुख्य–मुख्य बाटो निर्माणको काम महिनौं रोकेका छन् । पार्टीकै तर्फबाट गृहमन्त्री भएका रामबहादुर थापाले ठेकेदार कम्पनीलाई कारबाहीको दायरामा ल्याउने अभियान चलाइरहँदा दाहालनिकट ठेकेदारले भने ठेक्का सम्झौता म्याद गुजार्दै सडक निर्माण अलपत्र पारेका छन् ।
दाहालनिकट शैलुङ कन्स्ट्रक्सन प्रा.लि.का ठेकेदार शारदाप्रसाद अधिकारीले ठेक्का सम्झौता सकिएको झन्डै एक वर्ष पुग्दा पनि राजधानीका बाटोको काम पूरा गरेका छैनन्। अधिकारी ललितपुर खुमलटारस्थित दाहाल निवासका घरबेटी हुन्। पूर्वएमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र एकीकरणका छलफल पटक पटक अधिकारीको ललितपुर सिडिओ कार्यालयसँगैको घरमा भएको थियो। समयमै काम गर्न नसके पनि दाहालका घरबेटीलाई भने कारबाहीको दायरामा ल्याइएको छैन।
ठेक्का सम्झौता म्याद गुजारेको भन्दै काठमाडौं क्षेत्र–४ का सांसद गगन थापाले पटक–पटक सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराए पनि बाटो बन्नुको साटो अझ बिग्रँदै गएको बताएका छन्।उनले भनेः‘ हामीले एक पटक मात्र होइन, पटक–पटक सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गरायौं,तर न ठेक्का सम्झौता रद्द भयो, न ठेकेदारलाई कारबाही।’
अधिकारीको कम्पनीले ठेक्का लिएको काठमाडौं क्षेत्र नम्बर ४ को सुन्दरबस्ती, आदर्शनगर, चुनिखेल, टुपेक, टुसाल, जग्दोले राष्ट्रिय सहिद पार्क बाटोको म्याद गत वर्ष २०७४ साउन २० गते नै सकिएको छ। त्यस्तै, आकाशेधारा, बालुवाखानी, साततले सडक, राम मन्दिर, कृष्ण मन्दिर सडकको म्याद २०७४ असोज ३० गते सकिएको छ।
सांसद थापाका अनुसार ठेकेदार कम्पनीको नियत नै खराब देखिएको छ। उनका अनुसार ठेकेदारलाई पक्रेर फौजदारी अभियोग लगाउने कार्य आफैंमा जायज हैन। बरू, उनीहरूको ठेक्का सम्झौता रद्द गरिदिएको भए यस्तो अवस्था नआउन सक्थ्यो। अहिले क्षेत्र नम्बर ४ का यी सडकहरू हिँड्नै नसक्ने भएका छन्। बर्खायाममा सर्वसाधारणलाई सास्ती मात्रै भएको छ।


