![]()
बारा । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान संविधान पूर्ण नभएकाले संशोधनको तयारी भएको बताएका छन् । आइतबार बाराको कलैया उपमहानगरपालिकामा सडक शिल्यान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेस आन्दोलन र मधेसी जनताको भावना समेटेर संविधान संशोधन गरिने बताए ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओली, उपेन्द्र यादवबीच केही समयपहिले एक राजनीतिक सहमति भएको भन्दै उक्त सहमतिमा मधेस आन्दोलनका समयमा जनताले गरेको माग बमोजिम संविधान संशोधन गर्ने सहमति भएको उल्लेख गर्दै हिमाल, पहाड र तराईका जनताको संविधान बनाउने प्रतिवद्धता जनाए ।
उनले राजपा समेतको सहमतिमा संविधान संशोधन गरिने बताए । ‘राजपासँग पनि कुराकानी भइरहेको छ । फोरमसँग भएको सहमति जस्तै राजपासँग पनि छलफल गरेर संविधान संशोधन गरिन्छ, यसमा मधेसका जनता ढुक्क भए हुन्छ’ प्रचण्डले भने ।
उनले मधेसका जनतामा नागरिकताको समस्या रहेको भन्दै त्यो समस्या समाधानका लागि पनि चाँडै प्रक्रिया अघि बढ्ने विश्वास दिए । ‘नागरिकताका सवालमा प्रधानमन्त्री, गृहमन्त्री र म आफैंबीच भर्खरै छलफल भएको छ । त्यो छलफलमा तुरुन्त समस्या समाधान गर्न सरकारले काम थाल्छ ।


