Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति हसन रुहानीले शत्रुतापूर्ण चेतावनी दिएपछि दुई मुलुकको सम्बन्धमा थप तनाव बढेको छ । इरानी राष्ट्रपति रुहानीले अमेरिकाको शत्रुतापूर्ण नीतिप्रति कटाक्ष गर्दै इरानसँगको युद्ध सबैभन्दा ठूलो युद्ध हुने चेतावनी दिएका छन् ।

उनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई ‘बाघको पुच्छर’सँग नखेल्न र यसबाट केबल पछुतोमात्र हुने चेतावनी दिए । तेहेरानमा सम्बोधन गर्दै रुहानीले इरानसँगको शान्ति सबै प्रकारको शान्तिको जननी र युद्ध पनि सबै प्रकारको युद्धको जननी भएको अमेरिकाले बुझेको बताए ।

इरानलाई कसैले धम्काउन नसक्ने उनले जिकिर गरे । इरानलाई तेल निर्यात गर्न नदिएर ट्रम्पले आफ्नो हितको लागि पूरै विश्वलाई जोखिममा पारेको इरानी राष्ट्रपति रुहानीको भनाइ थियो ।

उनले अमेरिकी नीति मुलसमानविरोधी भएको आरोपसमेत लगाए । इरानको यस्तो धम्कीपछि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत् ‘अमेरिकालाई कसैले पनि दोस्रोपटक धम्की नदिनू’ भन्दै यस्तो भएमा इतिहासमा पहिला कहिल्यै नभोगेको परिणाम भोग्नुपर्ने चेतावनी दिए ।

अमेरिका अब धम्की सुन्ने देश नभएकाले सावधान रहन उनले इरानलाई ट्वीटरमार्फत् सचेत गराएका छन् । इरानको परमाणु कार्यक्रमलाई लिएर अमेरिकाले नयाँ प्रतिबन्ध लगाएको छ । जसका कारण विश्वमै तेल आपूर्तिमा कमी आउनसक्ने अनुमान गरिएको छ ।

गत मेमा इरानसँगको आणविक सम्झौताबाट अलग्गिएपछि अमेरिकाले नयाँ प्रतिबन्ध लगाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.