![]()
काश्की । प्रधानमन्त्री केपी शर्मा ओलीले निहित राजनीतिक उदेश्य पुरा गर्नका लागि डा. गोबिन्द केसीको जीवनमाथि खेलबाड नगर्न चेतावनी दिनुभएको छ । पोखरा बिश्वबिद्यालयको १९ औं साधरणसभामा बिहीवार बोल्दै उहाँले डा. केसीको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण भएको र त्यसका लागि सरकार गम्भीर रहेको बताउनुभएको हो ।
‘उहाँ आफ्नो खुशीमा हुनुहुन्छ कि पराधिन ? उहाँको स्वास्थ्य बिग्रिएको छ । त्यो थाहा पाएर हामीले उपचारका लागि चिकित्सक पठाएका छौं । तर बेडमा जानै नदिने । उपचार हुनै नदिने । वास्तवमा उहाँ आफ्नो खुशीमा हुनुहुन्छ कि पराधिन ?’
प्रधानमन्त्रीले राजनीतिका लागि केसीको जीवनसँग खेलबाड गर्ने काम भइरहेको बताउनुभयो । ‘राजनीतिका लागि उहाँको जीवनसँग खेलबाड भइरहेको छ । उहाँलाई अरुले घेरेर राखेका छन्’ उहाँले भन्नुभयो । केसीका नामका केहीले आफ्नो रोटी सेकेर खाइरहेको भन्दै त्यो अनुपयुक्त भएको उहाँले बताउनुभयो ।
चिकित्सकहरुको आन्दोलन मर्यादाबाहिरको भएको प्रधानमन्त्रीले बताउनुभयो । ‘काम नै बिरामीको उपचार गर्ने हो । आफूलाई चिकित्सक भन्ने तर बिरामीको उपचार नगर्ने । यो अमर्यादित हो’ प्रधानमन्त्रीले भन्नुभयो,‘डाक्टरले आज बिरामीको उपचार गर्दिन, भोलि गर्छु भन्दा कयौंको ज्यान जान सक्छ । यस्तो काम उचित होइन ।’
कांग्रेसको आन्दोलनको औचित्य नरहेको प्रधानमन्त्रीले बताउनुभयो । ‘के कारणले कांग्रेसले आन्दोलन गर्ने हो ? के करणले आन्दोलन गर्नुपर्ने भयो ? बिकास हुने भयो भनेर हो ? भ्रष्टचार समाप्त हुने भयो भनेर हो ?’ प्रधानमन्त्रीले भन्नुभयो,‘ होइन आन्दोलन सोख हो भने त कसको के लाग्छ र ?’
प्रधानमन्त्री ओलीले आफु जनताको प्रधानमन्त्री भएको भन्दै त्यसै अनुरुपका कामहरु भइरहेको बताउनुभयो ।


