![]()
काठमाडौं ।प्रतिनिधि सभाको बैठक पूर्व स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको निधनमा शोक प्रस्ताव पारित गर्दै सोमबारसम्मका लागि स्थगित भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधि सभाको बैठकले आलमको निधनमा शोकप्रस्ताव सर्वसम्मतीले पारित गरेको हो ।
आलम २०७० सालमा तत्कालीन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट रौतहटको क्षेत्र नं.२ बाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । आलमको गत शुक्रबार बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय ह्ृदयरोग केन्द्रमा उपचारको क्रममा निधन भएको थियो । बैठक सुरु हुनु अघि सार्वजनिक गरिएको कार्यसूचीमा शिक्षामन्त्री गिरिराजमणी पोखरेलले ‘चिकित्सा शिक्षा विधेयक २०७५’ र नेकपाकी सांसद विन्दा पाण्डेले संकल्प प्रस्ताव पेश गर्ने उल्लेख थियो ।
प्रतिनिधि सभाको अर्को बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ । यसैबीच सरकारले गत २२ गते राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद सचिवालयमा दर्ता गराएपनि दलीय सहमति जुट्न नसक्दा टेबुल हुन सकेको छैन । चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै लामो समयदेखि आन्दोलनरत प्रा. डा. गोविन्द केसीसँगको सहमति विपरित सरकारले विधेयक अगाडि बढाएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले विधेयक अगाडि बढ्न दिएको छैन । गत बिहीवार नै विधेयक टेबुल हुने कार्यसूची भएपनि सहमति जुट्न नसकेपछि अघि बढ्न सकेन ।


