Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

एजेन्सी । चीन भ्रमणका क्रममा प्रधानमन्त्री केपी ओली र उनका चिनियाँ समकक्षीबीच आठवटा उत्तरी नाकाबाट नेपालले मालसामान ढुवानी गर्न तिब्बती राजमार्गको प्रयोग गर्न पाउने सम्झौता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसबाट कालान्तरमा नेपालले दुई देशबाट मात्र नभइ तेस्रो मुलुकबाट समेत सामान ढुवानी गर्नका लागि बाटो खुल्न मद्दत पुग्ने आपूर्ति मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार तिब्बतबाट सामान ढुवानी गर्ने र तिब्बततर्फ मालसामान निर्यात गर्न बझाङ, रसुवागढी, दार्चुला, ताप्लेजुङ र हुम्लातर्फको व्यापारिक नाकाहरू खोल्ने सहमति प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा हुन सक्नेछ।

परराष्ट्र मन्त्रालयका सूचना अधिकारी रामबाबु ढकालले भने, “अहिले नै नाका खोल्ने विषयमा सम्झौता हुन्छ। त्यसमा हस्ताक्षर भएपछि नाकाहरूमा के कस्ता पूर्वाधार बनाउनुपर्ने हो त्यसबारे अध्ययन गरिनेछ।”

ती नाकाहरू खुलेमा सिमाना जोडिएका जिल्लाका बासिन्दाहरू पनि लाभान्वित हुनेछन्। त्यसका साथै कालान्तरमा त्यसले नेपालको व्यापारलाई तेस्रो मुलुकसम्म पुर्‍याउन मद्दत पुग्ने आपूर्ति मन्त्रालयका अधिकारीहरू बताउँछन्। मन्त्रालयका सह-सचिव नवराज ढकालले भने, “नेपाल र चीनबीच ट्रान्जिट सम्झौता भइसकेकोले नेपालले अन्य मुलुकबाट चिनियाँ ट्रान्जिट प्रयोग गर्दै सामान ल्याउने कुरा यसभित्र पर्छ।”

सुरक्षा मामिलासम्बन्धी जानकार गेजा शर्मा वाग्लेले भने, “तिब्बती शरणार्थीहरूले ती नाका प्रयोग गरेर चीनविरोधी गतिविधि गर्दै आएकोमा चीनले नेपालसँग कुरा उठाउँदै आएको छ। त्यसैले उसका सुरक्षा चासोबारे नेपालले हतारमा नभइ अध्ययन गरेर ठोस दृष्टिकोण बनाउनु उपयुक्त हुन्छ।”

यसअघि दुई देशका अधिकारीहरूबीच पारवहन सहित विभिन्न विषयमा सहमति भए पनि तिनको कार्यान्वयनले खासै गति लिएको देखिँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed