![]()
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल दुई जना आफैले मात्र पार्टी चलाउन खोजे संकट आउने चेतावनी दिनुभएको छ ।
प्राइम टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन’ मा कुरा गर्दै नेता खनालले ओली र प्रचण्डले मात्रै निर्णय गरेर पार्टी नचल्ने बताउनुभयो । उहाँले सामुहिक छलफल र निर्णयका आधारमा पार्टी चलाउन दुवै अध्यक्षलाई सुझाव दिनुभयो ।
“दुईजना नेताहरुले मात्रै हामी पार्टी चलाइहाल्छौँ भन्नुभयो भने पार्टी चल्दैन । यसरी यो पार्टी अगाडि बढ्न सक्दैन ।” खनालले भन्नुभयो ।
आफू पार्टी्भित्र कमजोर हैसियतमा रहेको भन्ने तर्कको खण्डन गर्दै नेता खनालले समयले सबै कुराको जवाफ दिने प्रतिक्रिया दिनुभयो ।
धेरै मान्छे जम्मा गरेर मात्रै पार्टी नचल्ने भएकाले वैचारिक, राजनीति र सैद्धान्तिक रुपले पार्टीलाई रुपान्तरण गर्न सक्नुपर्ने खनालको तर्क छ ।
उहाँले भन्नुभयो “पार्टी एकीकरण गर्ने भनेर भएभरका मान्छे हुल्यो, तर जिम्मवारी छैन, कुनै काम पनि दिनु छैन । यस्तो तरिकाले त पार्टी गोबरको थुप्रो जस्तै हुन्छ ।”
अहिले नेकपा ठूलो पार्टी भयो भन्दैमा दम्भ र घमण्ड गर्न नहुने खनालको सुझाब छ ।
“जसजसमा दम्भ र घमण्ड बढेको छ, तिनीहरु असफल हुँदै जानेछन् । कम्युनिष्ट पार्टी कहिल्यै घमण्डी हुँदैन । तर कतिपय नेताहरु घमण्डी देखिएका छन् । तिनीहरुबाट सचेत हुनुपर्छ ।” खनालले बताउनुभयो ।


