![]()
एजेन्सी । विश्ववकप फुटबलअन्तर्गत समूह ‘सि’ को खेलमा पोर्चुगल र स्पेनले ३–३ गोलको बराबरी खेलेका छन् । अन्तिम समयमा गोल गर्दै कप्तान क्रिष्टियानो रोनाल्डोले पोर्चुगललाई बराबरीमा पुर्याएका हुन् ।
पोर्चुगलका लागि कप्तान रोनाल्डोले ह्याट्रिक गोल गरे । खेलको चौथो मिनेटमा नै पेनाल्टीबाट रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । खेलको तेस्रो मिनेटमा नै रोनाल्डोलाई डिबक्सभित्र स्पेनका खेलाडीले फल गरेपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै कप्तान रोनाल्डोले गोल गरेका थिए ।
खेलको २४ औं मिनेटमा स्पेनका डिएगो कोष्टाले उत्कृष्ट प्रदर्शन गर्दै गोल गरे । उनकै गोलले स्पेनले पोर्चुगलसँग १–१ गोलको बराबरी बनाएको थियो । तर, पहिलो हाफ सकिन अन्तिम समयमा कप्तान रोनाल्डोले उत्कृष्ट सर्ट प्रहार गर्दै गोल गरेपछि पोर्चुगलले अग्रता बनाएको थियो । यो कप्तान रोनाल्डोको ब्यक्तिगत दोस्रो गोल थियो ।
पहिलो हाफमा २–१ गोलअन्तरले अघि रहेको पार्चुगलले आफ्नो अग्रतालाई जोगाउन नसक्दा बराबरीमा चिक्त बुझाएको हो । खेलको ५५ मिनेटमा डिएगो कोष्टाले गोल गर्दै २–२ गोलको बराबरीमा स्पेनलाई पुर्याएका थिए । त्यसको ३ मिनेटपछि नै नाचोले गोल गर्दै स्पेनलाई ३–२ गोलको अग्रता दिलाएका थिए ।
तर, खेलको ८८औं मिनेटमा फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै रोनाल्डोले ह्याट्रिक पुरा गरेका हुन् । जित नजिक रहेको स्पेनमाथि रोनाल्डोको उत्कृष्ट गोलले स्तब्ध बनायो भने पोर्चुगल हारबाट जोगिन पुग्यो ।
खेलमा ह्याट्रिक गोल गरेका रोनाल्डो म्यान अफ दि म्याच घोषित भए ।


