![]()
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको भारत र चीन दुबै देशसँग राम्रो सम्वन्ध विकास भएको बताउनुभएको छ ।
नेपाल बिकास र समृद्धिको यात्रामा अघि बढेको भन्दै त्यसका लागि छिमेकी राष्ट्रहरुसँग नेपालको प्राथमिकतामा आधारमा साझेदारिता गर्ने बताउनुभयो । साना तथा मझौला व्यवसायी महासंघ नेपालको १५ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले दुईतिहाइ बहुमतको सरकार भएकाले अव विकासका लागि उपयुक्त वातावरण बनेको बताउनुभयो ।
उहाँले साना तथा मझौला उद्योगको व्यवसाय विस्तार गर्न सके ठूला उद्योगको विकासमा सहयोग पुग्ने बताउनुभयो । लामो समयको प्रयासपछि देशमा आर्थिक विकासको निम्ति राजनीतिक वातावरण तयार भएको भन्दै अध्यक्ष दाहालले सबै राजनीतिक दलले एकअर्कालाई सहयोग गरेर देशको समृद्वितर्फ एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
उहाँले कृषि क्षेत्र, पर्यटन क्षेत्र, व्यवसायका अन्य विभिन्न उद्योग र रोजगारीको सृष्टिको विविध सम्भावनालाई सदुपयोग गरेर स्वदेशमा रोजगारीको वातावरण सिर्जना गर्नसके विदेशिएका कैयौँ युवा स्वदेश फर्किने बताउनुभयो ।
कार्यक्रममा महासंघका अध्यक्ष बाबुकाजी महर्जनले समृद्व नेपाल निर्माणका लागि महासंघले ‘एक घर एक व्यवसाय’ भन्ने नारा ल्याएको भन्दै यसलाई व्यवस्थित गर्न महासंघ लागिपरेको बताउनुभयो । कार्यक्रममा अध्यक्ष दाहालले महासंघद्वारा प्रकाशित ‘एसएमई फोकस’ नामक पुस्तकको विमोचन गर्नुभयो ।


