Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

बीबीसी । सिरियाली राष्ट्रपति बशर अल-असदले उत्तर कोरियाको राजकीय भ्रमण गर्ने योजना बनाएको उत्तर कोरियाली सरकारी समाचार संस्थाले जनाएको छ। सन् २०११ मा सत्ता सम्हालेयता किम जङ-अनले आफ्नो देशमा कुनै पनि राष्ट्रप्रमुखलाई स्वागत गरेको पहिलो पटक हुनेछ।

किमले पछिल्लो समय कूटनीतिक गतिविधिहरू तीव्र पारेका छन्। गत मेमा चिनियाँ राष्ट्रपतिलाई भेटेका किमले यसै महिना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग शिखर बैठक गर्दैछन्।

सहकार्य

उत्तर कोरियाको एउटा साझेदारका रूपमा चिनिने सिरियाले असदको भ्रमण योजनाबारे कुनै प्रतिक्रिया दिएको छैन। दुवै देशमाथि रासायनिक अस्त्रका लागि सहकार्य गरेको आरोपहरू लाग्ने गरेको छ। तर दुवै देशले ती आरोपको खण्डन गर्दै आएका छन्। उत्तर कोरियाली समाचार संस्था केसीएनएले असदको भ्रमणको मितिबारे चाहिँ केही उल्लेख गरेको छैन। असदको भनाइलाई उद्धृत गर्दै उसले लेखेको छ, “म उत्तर कोरियाको भ्रमण गर्न जाँदैछु र किम जङ-अनलाई भेट्नेछु।”

सिरियाका लागि उत्तर कोरियाली राजदूतको ओहदाको प्रमाणपत्र बुझेपछि असदले त्यस्तो बताएका हुन्।

कूटनीति

‘किमले अन्तिम जित हासिल गर्ने र कोरियाको पुनःएकीकरण महसुस गराउनेमा आफू विश्वस्त रहेको’ पनि असदले उल्लेख गरेको बताइएको छ। उत्तर कोरियाले सन् १९६६ मा सिरियासँग कूटनीतिक सम्बन्ध स्थापित गरेको थियो र सन् १९७३ को अरब-इजरेल युद्धमा सेना पठाएको थियो।

गत फेब्रुअरीमा संयुक्त राष्ट्रसंघको एउटा प्रतिवेदनमा सन् २०१२ र २०१७ को बीचमा उत्तर कोरियाले रासायनिक अस्त्र बनाउने ४० खेप सामग्री सिरिया पठाएको आरोप लगाइएको थियो। सात वर्षदेखिको गृहयुद्धमा रासायनिक अस्त्रको प्रयोग गरेको असदमाथि आरोप लाग्दै आएको छ। तर आफूसँग त्यस्तो कुनै भण्डारण रहेको कुरा उनले अस्वीकार गर्दै आएका छन्।

उच्चस्तरीय

उत्तर कोरियाले दक्षिण कोरियासँग सम्बन्ध सुधारका लागि यो वर्षको शुरूतिर संकेत गरेयता किमले चिनियाँ राष्ट्रपति सी जिनपिङ र दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनसँग भेटवार्ता गरिसकेका छन्। यसैवर्ष उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर बैठक गर्ने कुरा छ।

प्राविधिक रूपमा अझ पनि उत्तरसँग युद्धमा रहेको उत्तरले यो वर्षको शुरूवातमा दक्षिण कोरियासँग सम्बन्ध सुमधुर बनाउन खुला रहेको संकेत गरेयता अनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र दक्षिण कोरियाली राष्ट्रपति मून जे-इन भेटिसकेका छन्। र, यसैवर्ष रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर बैठकको विचार पनि अघि सारेका छन्। तर सिंगापुरमा जुन १२ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग हुने भनिएको बैठक नै सबभन्दा उच्चस्तरको बैठक हो। र, त्यसैमा अमेरिकाले माग गरे बमोजिम कोरियाली प्रायःद्वीपको पूर्ण निश्शस्त्रीकरण र उत्तर कोरियाले खोजेको कडा नाकाबन्दीलाई खुकुलो बनाउनुपर्ने जस्ता महत्त्वपूर्ण विषयमा कुराकानी हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.