![]()
चितवन। गृहमन्त्री रामबहादुर थापाले भ्रष्टहरुको अपरेशन गर्न आवश्यक भएको भन्दै त्यसका बिरुद्ध ‘स्टिङ अपरेशन’ चलाउने बताउनुभएको छ । उहाँले त्यसका लागि पत्रकारहरुलाई आब्हान पनि गर्नुभयो ।
‘तस्कर र भ्रष्टाचारीविरुद्ध स्टिङ अपरेसन चलाउँदैछौं । निर्माणको जिम्मा लिने तर समयमै काम नसक्ने ठेकेदारहरुको नाम र फोटो सार्वजनिक गरिन्छ’ उहाँले चितवनको सौराहामा बिहीबार नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेला उद्घाटन गर्दै भन्नुभयो ।
पत्रकारिता देश र जनताको समृद्धिको लागि हुनुपर्ने उहाँको भनाई छ । ‘भ्रष्टहरुको अप्रेशन गर्न जरुरी छ । श्रम नगरीकन अकुत सम्पती कमाएकाहरुको कालो धनमाथि प्रहार गर्न जरुरी छ । देशको चौथो अंग पत्रकारहरु यसमा क्रियाशिल हुन आवश्यक छ’ उहाँले भन्नुभयो ।
‘विकास गर्छु भनेर ठेक्का लिने तर समयमा काम नसक्ने, यी प्रतिगामीहरु सामन्त वर्ग होइन, दलाल हुन् । यस्ता ठेकेदार तस्करहरु हुन्, देशको समृद्धिको बाधक हुन् । यिनी खलनायकहरुको फोटो सार्वजनिक गर्नुस्’ उहाँले पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
गृहमन्त्री थापाले विकास र समृद्धिको पक्षमा इमान्दारीपूर्वक काम गर्ने ठेकेदारहरुलाई भने नायकको रुपमा अगाडि ल्याउनुपर्ने बताउनुभयो । ‘त्यस्ता ठेकेदारहरुलाई सरकारले आवश्यक सहयोग पनि गर्छ’ उहाँले भन्नुभयो ।
श्रम नगरी अकुत सम्पती आर्जन गर्ने र सरकारको रकम दुरुपयोग गर्नेहरु विकासको बाधक भएको उहाँले बताउनुभयो ।


