![]()
काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । कम्पनीले हालै प्रकाशित गरेको विवरणले अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ४ दशमलव ७२ प्रतिशतले बढेको देखाएको हो । गत वर्षको सोही अवधिमा कम्पनीले ११ अर्ब ३२ करोड १८ लाख १९ हजार रुपैयाँ मुनाफा गरेको थियो ।
टेलिकमको वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले ३३ अर्ब ८५ करोड ३२ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको छ । आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ प्रतिशतले बढी हो । यस अवधिका आम्दानीमध्ये कम्पनीले सेवा विक्रीबाट २९ अर्ब ३९ करोड २१ लाख ३७ हजार रुपैयाँ र अन्यबाट ४ अर्ब ४६ करोड ११ लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ अर्ब ८६ करोड ८९ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको थियो । जसमध्ये सेवा विक्रीबाट २९ अर्ब ७४ करोड ९४ लाख ६३ हजार र अन्यबाट ३ अर्ब ११ करोड ९४ लाख ५४ हजार रुपैयाँ आम्दानी भएको थियो ।
सेवाग्राहीको चाहना भ्वाइस भन्दा डाटा सेवातिर बढेको अवस्थामा कम्पनीले तीब्र प्रतिस्पर्धात्मक दूरसञ्चार बजारमा सेवाग्राहीको माग तथा रुचीअनुरुप आकर्षक भ्वाइस तथा डाटा प्याकेज उपलब्ध गराउन थालेको जनाएको छ । त्यसैगरी समयानुकुल शुल्कमा परिमार्जन हुँदै आइरहनुले सेवा विक्रीको आम्दानीमा अस्थायी रुपमा प्रभाव पर्न गएको टेलिकमले उल्लेख गरेको छ ।
कम्पनीले आगामी दिनमा आर्थिक अवस्था मजबुत बनाउनका लागि डाटा सेवा व्यापक रुपमा विस्तार गर्न फाइवर टु द होम (एफटीटीएच), फोर–जी सेवाको विस्तार लगायतका विभिन्न कार्यक्रम अघि बढाएको जनाएको छ ।


