![]()
काठमाडौ,बैशाख ।
काठमाडौंको बसुन्धरामा कारले मोटरसाइकललाई ठक्कर दिएको खबरलगत्तै घटनास्थल पुगेको प्रहरीले एक पेस्तोल बरामद गरेको छ । पेस्तोलसहित लमजुङको सुन्दरबजार–३ घर भई हाल काठमाडौंको गैरीधारा बस्ने ४२ वर्षीय सुमन थापा पक्राउ परेका छन् ।
उनले चलाएको बा ३ च १६५४ नम्बरको निशान जीप बा ४० प ५७७५ नम्बरको मोटरसाइकललार्इ गएराति सवा ११ बजे ठक्कर दिएको जानकारी पाएपछि महाराजगञ्जको प्रहरी टोली घटनास्थल पुगेको थियो । ठक्कर दिने जीप चालकलार्इ नियन्त्रणमा लिन चेकजाँच गर्दा अगाडिको सिटबाट पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।
पेस्तोलसँगै एक थान म्यागजिन र ३ राउन्ड गोलीसमेत बरामद भएको छ । जीपको ठक्करबाट घाइते २६ वर्षीय सन्तोष नेपालीको भने मृत्यु भएको छ । स्याङ्जा पुतलीबजार ३ घर भर्इ हाल काठमाडौं महानगरपालिका २६ बस्ने नेपालीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्याङ्जा पुतलीबजारकै अर्जुन बोहोरा घाइते भएका छन् । उनको अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार, पक्राउ परेका थापालार्इ महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखेर अनुसन्धान भइरहेको छ ।


