![]()
पर्सा । वीरगञ्ज सिटी हाल्फ म्याराथन प्रतियोगितामा लालबहादुर थापा विजयी भएका छन् । पर्सा जिल्ला एथ्लेटिक्स संघ, वीरगञ्जको आयोजनामा भएको प्रतियोगितामा त्रिभुवन आर्मीका थापाले २१. ५ किलोमिटरको दौड १ घण्टा ११ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान सुनिश्चित गरे । प्रथम स्थान हासिल गर्न सफल थापा २५ हजार नगद र प्रमाणपत्रबाट सम्मानित भएका छन् ।
आर्मीकै टिकाराज कटुवाल १ घण्टा १२ सेकेन्डमा दौड पूरा गर्दै द्वितीय भए भने सशस्त्र प्रहरीका सन्तोष बिष्टले तेस्रो स्थान सुनिश्चित गरे । उनीहरुले क्रमशः २० र १५ हजार नगदसहित प्रमाणपत्र पाए । विजयी खेलाडीहरुलाई दक्षिण एशियाली खेलकुद प्रतियोगिताका कीर्तिमानी धावक वैकुण्ठ मानन्धरलगायतले पुरस्कार वितरण गरे ।
संघले नै आयोजना गरेको ५ किलोमिटर दौड प्रतियोगितामा सुभाष थापा, अनिल साह, अनिल शर्मा क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । उनीहरुलाई नगद ५ हजार, ३ हजार र २ हजार पुरस्कार, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको आयोजक एथलेटिक्स संघ पर्साका अध्यक्ष शैलेन्द्र पाण्डेले जानकारी दिए ।
त्यसैगरी, वीरगञ्जमा संस्कृति रक्षा दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा प्रिन्सकुमार मुखिया प्रथम भएका छन् । त्यसैगरी चन्देश्वर पटेल, विकासचन्द उपाध्याय क्रमशः द्वितीय र तृतीय भएका छन् । हिन्दू स्वयंसेवक संघले आयोजना गरेको प्रतियोगितामा विजेताहरुलाई पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवालले पुरस्कार प्रदान गरेका थिए ।


