![]()
काठमाडौ,माघ ।
माओवादी केन्द्रका शीर्ष नेताहरूले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको दुईदिने नेपाल भ्रमण कूटनीति र राजनीतिक मर्यादाविपरीत रहेको बताएका छन् । सरकार परिवर्तनको संघारमा यस्तो खालको भ्रमण हुनुलाई उनीहरूले अस्वाभाविक भनेका छन् ।
आफ्नै पार्टी अध्यक्ष पुष्पकमल दाहालले महत्वपूर्ण भनेको यो भ्रमणको माओवादीकै शीर्ष नेताहरूले भने चर्को आलोचना गरेका हुन् । माओवादी अध्यक्ष दाहालले शुक्रबार बिहान करिब ५० मिनेटको भेटपछि दुई देशको मित्रता सौहार्दपूर्ण भएको टिप्पणी गरेका थिए । उनैका पार्टीका नेताहरूले भने सरकार कामचलाउ बनेका बेला छिमेकी देशको विदेशमन्त्री बिनाएजेन्डा नेपाल आउनु सार्वभौमिकतामाथिको हस्तक्षेप भएको दाबी गरेका छन् । माओवादी उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले स्वराजको भ्रमणलाई राजनेताहरूले कूटनीतिक आचारसंहिता उल्लंघन गरेको प्रमाणका रूपमा लिएका छन् ।
माओवादी प्रवक्ता पम्फा भुसालले वाम एकता गर्ने पार्टीका नेताले बोलाएर भएको भ्रमणप्रति आफ्नो विशेष टिप्पणी नहुने बताइन् । माओवादीकै अर्का नेता एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले सरकार कार्यवाहक भएको अवस्थामा बिना एजेन्डा स्वराज आउनु बेठीक भएको बताए ।


