![]()
बिबिसि । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जङ अनको भन्दा आफ्नो पारमाणिक अस्त्रको बटन “धेरै ठूलो“ र “झन् बढी शक्तिशाली“ रहेको बताएका छन् ।
दुई पारमाणविक शक्तिसम्पन्न राष्ट्रका नेताबीच बढ्दो व्यक्तिगत आरोप प्रत्यारोपको सिलसिलामा ट्रम्पको पछिल्लो ट्वीट आएको छ । किमले यो हप्ताको सुरुमा पारमाणविक अस्त्रको बटन सधैँ आफ्नो टेबलमा रहेको धम्की दिएका थिए ।
ट्रम्पको ट्वीटले जुनसुकै अमेरिकी राष्ट्रपतिको पारमाणविक अस्त्रमा सोझो पहुँच रहेको देखाएको छ । अमेरिकासँग विश्वको सबभन्दा ठूलो पारमाणविक अस्त्र भण्डार छ ।
उत्तर कोरियाले अमेरिकामाथि आक्रमण गर्न सक्ने क्षमताको पारमाणविक हतियार आफूसँग रहेको दाबी गर्छ । विश्लेषकहरू प्योङयाङसँग पारमाणविक अस्त्र भएकोमा सहमत छन् । तर ऊसँग रिस उठेका बेला प्रयोग गर्न सक्नेगरी त्यस्तो प्रविधि रहेको भन्ने स्पष्ट छैन ।
राष्ट्रपति ट्रम्पको उन्मुक्त रूपमा ट्वीट लेख्ने बानीले पर्यवेक्षकलाई विगतमा अन्योलमा पारे जस्तै उनको यो पछिल्लो सन्देशले पनि कूटनीति र राष्ट्रपतिको भनाइका बीचको भेद पुनः परिभाषित गर्ने ठानिएको छ ।
कैयौंले विश्व नेताहरूले सस्तो रूपमा पारमाणविक अस्त्रको धम्की दिएकोप्रति सचेत गराएका छन् । तर उनका समर्थकहरूले उनको बचाउ गर्दै ट्रम्पका टिप्पणीहरू तथ्यगत रहेको र त्यसले अमेरिकी शक्ति र समाधान देखाउने बताएका छन् ।


