Breaking News.... EverestOnlineKhabar
April 30, 2026

यौन दुर्व्यवहारविरुद्ध लड्न अमेरिकी अभिनेत्रीको अभियान

Loading

बिबिसि । कार्यस्थलमा हुने यौन दुर्व्यवहारविरुद्ध लड्न ३ सयभन्दा बढी अभिनेत्री, महिला निर्देशक र मनोरञ्जन उद्योगका कार्यकारीहरूले संयुक्त राज्य अमेरिकामा एउटा अभियान थालेका छन् । ’टाइम’ज अप’ अर्थात् समय सकियो नाम दिइएको उक्त अभियानमा केट ब्लान्चेट, अमेरिका फेरेरा, इभा लोङगोरिया र नटाली पोर्टमेन जस्ता प्रसिद्ध हलिवूड अभिनेत्री आबद्ध छन् ।

काम आय हुने रोजगार स्थलमा दुर्व्यवहार बेहोरिरहेका महिला र पुरुषलाई कानूनी सहायता उपलब्ध गराउन उक्त अभियानले एक करोड ३० लाख डलरभन्दा बढी रकम संकलन गरिसकेको छ ।

अमेरिकामा एकजना चलचित्र निर्माता हार्भी वाइनस्टिनसहित कैयौँ चर्चित व्यक्तिमाथि यौन दुर्व्यवहारमा संलग्न भएको आरोप लागेको छ । यो अभियान यौन दुर्व्यवहारको आरोपका कारण मनोरञ्जन उद्योगमा कार्यरत चर्चित र प्रभावशाली पुरुषहरूमाथि अघिल्लो वर्ष गम्भीर प्रश्नहरू उठेपछि वा उनीहरूको चलचित्र उद्योगमा भविष्य समाप्त हुनथालेपछि गठन भएको थियो ।

चलचित्र निर्देशक वाइनस्टिनबाहेक पनि व्यवसाय, राजनीति र सञ्चारमाध्यममा कार्यरत कैयौँ प्रभावशाली व्यक्तिहरू यौन दुर्व्यवहारका कारण विवादमा मुछिएका छन् । यो अभियानले कम आम्दानी हुने क्षेत्रहरु जस्तै कृषि, सरसफाइ क्षेत्रका मजदुर र होटलमा कार्यरत महिलाहरुलाई सघाउने लक्ष्य लिएको छ ।

एउटा खुलापत्रमा उक्त अभियानले भनेको छ, “दुर्व्यवहार रोकिँदैन किनेभने त्यसका दोषी वा त्यसो गर्न लगाउनेलाई कहिल्यै पनि जवाफदेही बनाइँदैन।“

उक्त अभियानले चमकदमक कम हुने क्षेत्रहरुमा हुने दुर्व्यवहारमा ध्यान दिन सञ्चारमाध्यमलाई आग्रह गरेको छ । त्यसबाहेक अर्को आइतवार हुन लागेको चलचित्र क्षेत्रसम्बन्धी एउटा प्रतिष्ठित पुरस्कार वितरण समारोह गोल्डेन ग्लोब अवार्डसमा सहभागी हुने महिलाहरूलाई लिङ्ग र वर्गका आधारमा हुने भेदभावको विरोधमा कालो पोशाक लगाउन पनि सो अभियानले अपील गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed