![]()
एजेन्सी,१३ मंसिर ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा शीर्ष स्थानको होडमा आफूलाई प्रस्तुत गर्दै आएको टोटनह्याम पराजित भएको छ । माउरिसियो पोकेटिनोको टिम टोटनह्याम लेस्टर सिटीसँग २–१ ले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जिताउन जेमी भर्डी र रियाद महरेजले गोल गरे ।
टोटनह्यामका लागि ह्यारी केनले एक गोल फर्काए पनि त्यो हार जोगाउन पर्याप्त भएन । १३ औं मिनेटमा भर्डीले गोल गर्दै लेस्टरलाई सुरुवाति अग्रता दिलाए । भर्डीले लिग फुटबलमा एक सयौं गोल गरेका हुन् । पहिलो हाफको इन्जुरी समयमा महरेजले गोल गरेपछि लेस्टरले २–० को अग्रता लियो । टोटनह्यामका लागि ७९ औं मिनेटमा केनले गोल गरे पनि हार भने टार्न सकेनन् । टोटनह्यामले गोल गर्ने केही राम्रा मौका गुमायो । हारपछि पाँचौँ स्थानको टोटनह्यामको १४ खेलबाट २४ अंक छ । १४ औं स्थानको लेस्टर सिटीको १७ अंक भएको छ ।


