![]()
कालीकोट,१७ साउन ।
बेलुकीको खाना खाएर परिवारका सबै सदस्य एउटै ओछ्यानमा सुते । भोलिपल्ट बिहानै उठेर घरधन्दामा जुट्ने उनीहरूको योजना थियो । सबैजना मस्त निदाएका थिए । मध्यराति घरमाथिबाट ठूलो ढुंगा खस्यो । ढुंगाले घर नै च्यापेपछि उनीहरू भाग्नै पाएनन् । छिमेकी पुग्दा तीन जनालाई मृत भेट्टाए । दुई जनाको भने बेहोस अवस्थामा उद्धार भयो ।
कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा आइतबार मध्यराति भएको यो घटनाले स्थानीय बासिन्दालाई स्तब्ध बनाएको छ । गाउँपालिकाको वडा नम्बर ६ स्थित काव्रा गाउँमा घरमाथि भीरबाट खसेको ढुंगाले च्याप्दा तीन जना बालबालिकाको ओछ्यानमै ज्यान गएको हो । घटनामा स्थानीय बुदे सार्कीका दुई छोरी र एक छोराको मृत्यु भएको छ । एउटै ओछ्यानमा सुतेका बुदे र उनकी श्रीमती बेलुलाई भने छिमेकीले घाइते अवस्थामा उद्धार गरेका छन् । १० वर्षीया ललिता, आठ वर्षीय लंकबहादुर र पाँच वर्षीया कल्पनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।


