![]()
एजेन्सी,८ असार ।
अतिवादी संगठन इस्लामिक स्टेट (आइएस)ले इराकको मोसुलस्थित ऐतिहासिक अल–नूरी मस्जिद ध्वस्त बनाइदिएको छ । इराकी सेनाले ऐतिहासिक मस्जिद आइएसले ध्वस्त बनाइदिएको दाबी गरेको हो । यो त्यही मस्जिद हो जहाँ सन् २०१४ मा आइएसका नेता अबू बक्र अल–बगदादीले शरण लिएका थिए ।
तर आइएसले यो मस्जिद एक अमेरिकी लडाकू विमानबाट गरिएको हमलामा नष्ट भएको दाबी गरेको छ । अमेरिकी सेनाले भने आइएसको भनाइलाई अस्वीकार गरेको छ । आकाशबाट लिइएको तस्बिरमा यो मस्जिदको अधिकांश हिस्सा नष्ट भएको देखाइएको छ ।
मोसुललाई आफ्नो नियन्त्रणमा लिन अघि बढेको इराकी सेनाका कमान्डर मेजर जनरल जोसेफ मार्टिनले आफूहरु मस्जिदबाट करिब ५० मिटर टाढा पुगेका बेला आइएसले अर्को एक गम्भीर अपराध गरेको बताए । उनले आइएसले मस्जिद ध्वस्त बनाएर मोसुलसहित सबै इराकीविरुद्ध अपराध गरेको आरोप लगाए । आइएसका यस्ता क्रियाकलापले पनि यो संगठन असभ्य रहेको र यसलाई परास्त गर्नुपर्ने उनको भनाइ थियो ।


