![]()
वीरगञ्ज,३० जेठ ।
वीरगञ्जका व्यवसायी बसरुद्धिन अन्सारी वीरगन्ज महानगरपालिकाको मेयर उम्मेदवार बन्ने शर्तमा नेकपा एमाले प्रवेश गरेका छन् । यससँगै वीरगञ्जको चुनावी माहोलले नयाँ मोड लिएको छ । प्रतिस्पर्धामा कांग्रेस र मधेसवादी दलभन्दा पछाडि रहेको एमाले अन्सारीको प्रवेशसँगै कडा टक्कर दिने अवस्थामा पुगेको छ ।
सोमबार वीरगञ्जमा आयोजित एक कार्यक्रमबीच नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक समेत रहेका अन्सारी एमाले प्रवेश गरेका हुन् । उनलाई एमालेका २ नम्बर प्रदेश संयोजक सत्यनारायण मण्डल, नेताहरु रघुवीर महासेठ, नागेन्द्र चौधरी लगायतले स्वागत गरे ।
अन्सारी दोस्रो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार थिए । उनले ४ हजार मत प्राप्त गरेका थिए । एमालेले वीरगञ्जको मेयरमा सुन्दर कुर्मीलाई अघि सार्ने चर्चा थियो । तर, अन्सारीको प्रवेशसँगै उनी पछि हटेका छन् । मधेस आन्दोलनपछि वीरगन्जमा रक्षात्मक बनेको एमाले साधन स्रोत सम्पन्न अन्सारीको प्रवेशसँगै मजबुत बनेको एमाले नेताहरुले बताएका छन् ।
वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १, २ र ३ मा मुस्लिम मतदाताको बाहुल्य छ । ती मत अन्सारीले तान्न सक्ने आँकलनसहित एमालेले उनलाई अघि सारेको हो । कांग्रेसले वीरगञ्जको मेयरमा पूर्व सांसद अजय द्विवेदी र संघीय फोरमले बिजय सराबगीलाई अघि सार्ने सम्भावना छ ।


