![]()
काठमाडौ,२० जेठ ।
प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढेको छ । संसदको दोस्रो ठुलो दल एमालेको विरोधका बाबजुद प्रधानमन्त्री चयन प्रक्रिया अघि बढेको हो । सभामुख ओनसरी घर्तीले शुक्रबार राखेको कार्यव्यवस्था परामर्श समिति र तीन दलका नेताहरूका छुट्टाछुट्टै बैठकमा विपक्षी र सत्तापक्षबीच सहमति नभएपछि संसद्ले सूचना प्रकाशित गरी प्रक्रिया अघि बढाएको हो । संसद् सचिवालयका अनुसार प्रधानमन्त्री चयनका लागि आइतबार बिहान ११ बजे संसद्मा मतदान हुनेछ । शनिबार बिहान ११ देखि ४ बजेसम्म प्रधानमन्त्री पदका लागि मनोयनयन र साढे ४ बजे दर्ताक्रमअनुसार उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम संसद् सचिवालयले तय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले गत १० गते पदबाट राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानअनुसार सहमतीय सरकार गठनका लागि आहवान गरेकी थिइन् । एक साताको समयमा पनि सहमति बन्न नसकेपछि राष्ट्रपतिले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन अघि बढाउन संसद्लाई आहवान गरेकी थिइन् । तर भरतपुर महानगरको मतगणना प्रक्रिया अघि बढाउनुपर्ने माग गर्दै प्रमुख विपक्षी एमालेको संसद् अवरोध जारी छ । मतगणना सुचारु नहुँदासम्म संसद् चल्न नदिने अडान एमालेको छ ।
संसद्मा प्रमुख प्रतिपक्षीको विरोध भइरहेका बेलामा प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउन नमिल्ने जिकिर एमालेको छ । संसद्मा आफूहरूले उठाएको विषय सम्बोधन हुनेबित्तिकै अवरोधको अवस्था नरहने र त्यो विषय टुंग्याउनेतर्फ सत्तारूढ दलहरूले ध्यान दिनुपर्ने एमालेको भनाई छ ।
तर सत्तापक्षीय दलहरू भने संवैधानिक निकायको जिम्मेवारीभित्रको विषयलाई लिएर एमालेले संसद् अवरोध गर्नु नाजायज भएको भन्दै प्रधानमन्त्री चयन प्रक्रियालाई अप्ठ्यारो पर्ने गरी संसद् अवरोध गर्न नहुने धारणा राखिरहेका छन् । सभामुखसँगको छलफलमा पनि सत्तारूढ दलहरूले यही धारणा राखेका थिए ।
शुक्रबारै विपक्षी गठबन्धनको बैठकले मतगणना सुचारु हुने अवस्था नहुँदासम्म संसद् अवरोध गर्ने र त्यो कायम रहँदा प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउन नहुने निष्कर्ष निकालेको थियो । कार्यव्यवस्था परामर्श समिति बैठकमा फरक–फरक धारणा आएपछि सहमति खोज्नका लागि भन्दै सभामुखले अपराहन प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बोलाएकी थिइन् । बैठकमा तीनवटै दलका प्रमुख नेता गएनन्, आफ्ना प्रतिनिधिहरू मात्र पठाए । दोस्रो बैठकमा पनि दुई पक्षबीच सहमति नभएपछि सभामुख घर्तीले सचिवालयलाई सूचनामार्फत निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएकी थिइन् । सभामुख घर्तीको निर्देशनअनुसार संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले दिउँसो साढे ४ बजे प्रधानमन्त्री निर्वाचनको कार्यक्रम सार्वजनिक गरेका हुन् ।


