![]()
डोटी,१९ जेठ ।
डोटीका एक नेपाली नागरिकलाई अपहरण गर्ने भारतीय प्रहरीहरुलाई कुनै कारबाही नगरी भारतको जिम्मा लगाइएको छ । बिनाइजाजत नेपाल आएका उनीहरुले बुधबार मध्यरातमा दिपायल सिलगढी नगरपालिका–८ लडागडाका लालबहादुर आउजीलाई अपहरण गरेका थिए । उनीहरुले आफ्नै घरमा सुतिरहेका लालबहादुरलाई कुटपिट गर्दै नाम्लोले हातखुट्टा बाँध्नुका साथै मुखमा पट्टी लगाएर गाडीमा हाली भारततर्फ लैजाने प्रयास गरेका थिए ।
स्थानीयले प्रहरीलाई खबर गरेपछि भारतीय टोली पक्राउ पर्यो । खानतलासीको क्रममा उनीहरु भारतीय प्रहरी अधिकारी डिएसपी नागराजसहित नेतृत्वमा रहेको पुष्टि भएपछि उनीहरुलाई प्रहरीले सम्मानपूर्वक व्यवहार गरेको थियो ।
सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रोमेन्द्र सिंह देउजाले दिएको जानकारी अनुसार महाकाली अञ्चल प्रहरी कार्यालयमार्फत भारतीय सीमा प्रहरीको जिम्मा लगाइएको हो ।
कुनै घटनाको अनुसन्धानका लागि भारतीय प्रहरी नेपाल आउन सक्ने भएपनि उनीहरु सूचना नदिएर आएको पाइएको उनले बताए । प्रहरीसँगै नियन्त्रणमा लिइएको गाडी र चालक राजेश बागचन्दलाई पनि भारतीय प्रहरी टोलीसँगै कञ्चनपुर पुर्याइएको थियो । उनीहरुलाई पनि सम्वन्धित व्यक्तिको जिम्मा लगाइने प्रहरी नायव महानिरीक्षक देउजा बताउँछन् ।


