Breaking News.... EverestOnlineKhabar
April 30, 2026

एलईडी खरिद प्रकरणः भारतभन्दा आधा सस्तो…..

Loading

काठमाडौ,३० बैशाख ।
विद्युत् प्राधिकरणले भारतबाट मगाएर उपभोक्तालाई बिक्री गर्न खोजेको एलईडी चिमको मूल्य विवादित बनाउने प्रयास भइरहँदा नौ वाटको फिलिप्स एलईडी चिमको मूल्य भारतको राजधानी दिल्लीमै प्रतिगोटा एक सय ९० भारु (तीन सय चार रुपैयाँ) पर्ने त्यहाँका बिक्रेताले बताएका छन्।
नयाँदिल्लीस्थित द्वारका सेक्टर १२ मा रहेको संकल्प इलेक्ट्रिकल्सका बिक्रेता अविनाश गुप्ताले फिलिप्स ब्रान्डको एलईडी चिमको एक सय ९० भारु पर्ने जानकारी दिए।प्राधिकरणले भारतीय सरकारी कम्पनी इनर्जी इफिसेन्सी सर्भिसेस लिमिटेड (ईईएसएल) मार्फत यही ब्रान्ड र यही क्षमताको २ करोड थान चिम आयात गर्दैछ। उक्त चिममा भन्सार महसुल, कर, ढुवानीलगायत शुल्क जोडेर उपभोक्तालाई प्रतिगोटा एक सय ४० रुपैयाँमा वितरण गर्ने योजना प्राधिकरणको छ।
नेपालको हेटौंडासम्म प्रतिगोटा ६५ रुपैयाँ भारु (एक सय चार रुपैयाँ) पर्ने यो चिमको मूल्यमा स्थानीय कर र सेवा शुल्क जोडिँदा नेपालका उपभोक्ताका लागि प्रतिगोटा एक सय ४० रुपैयाँसम्म पर्ने प्राधिकरणका कार्यकारीनिर्देशक कुलमान घिसिङले बताए। अर्थात् दिल्लीमा फिलिप्स ब्रान्डको एउटा एलईडी चिमलाई पर्ने मूल्यमा नेपालमा प्राधिकरणले दुईवटा त्यस्तै चिम बिक्री गर्नेछ। काठमाडौंको बजारमा भने फिलिप्स नौ वाटको एलईडी चिमको मूल्य चार सयदेखि पाँच सय रुपैयाँसम्म पर्छ।
प्राधिकरणले खरिद गर्न लागेको उक्त एलईडीका लागि ईईएसएलले प्रस्ताव गरेको ६५ भारुको मूल्यमा दुई अर्ब ८० लाख रुपैयाँ तिर्नुपर्नेछ। भारतीय उपभोक्ता मूल्यमा यो परिमाणमा आयात गर्ने हो भने यसको मूल्य ६ अर्ब ८० लाख रुपैयाँ पर्छ। भारतीय उपभोक्ता बजार र प्राधिकरणले बिक्री गर्ने मूल्यबीच प्रतिगोटा एक सय ६४ रुपैयाँको अन्तर छ। यही हिसाबले पनि प्राधिकरणका उपभोक्ताका लागि तीन अर्ब २८ करोड रुपैयाँ लागत बचत हुने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed