Breaking News.... EverestOnlineKhabar
February 8, 2026

कांग्रेस र माओवादी केन्द्रबीच कहाँ–कहाँ चुनावी तालमेल ?

Loading

काठमाडौ, वैशाख २२ । नेपाली कांग्रेसले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रसँग तालमेल गर्ने भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय प्रचार–प्रसार समन्वय उपसमितिले शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा दुई महानगर, एक उपमहानगर र चार नगरपालिकामा चुनावी तालमेल गर्ने जानकारी दिएको हो ।

सो अवसरमा उपसमितिका संयोजक रमेश लेखकले पोखरा–लेखनाथ महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रले कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई सघाउने र भरतपुर महानगरपालिका प्रमुखमा कांग्रेसले नेकपा माओवादी केन्द्रका उम्मेदवार रेणु दाहाललाई सघाउने सहमति भएको जानकारी दिए ।

उनले भने–‘नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको चुनावी तालमेल गणतन्त्र, संघीयतावादी र प्राकृतिक तालमेल हो ।’

यसैगरी, मकवानपुरको हेटौंडा उपमहानगरपालिका प्रमुखमा माओवादी केन्द्रले कांग्रेस उम्मेदवार आनन्दराज पराजुलीलाई सहयोग गर्ने सहमति भएको संयोजक लेखकले बताए ।

यस्तै, मकवानपुरको थाहा नगरपालिका प्रमुखमा कांग्रेसले माओवादी केन्द्रका उम्मेदवार लवशंकर विष्टलाई सघाउने, धादिङको नीलकन्ठ नगरपालिका प्रमुखमा माओवादी केन्द्रले कांग्रेसका उम्मेदवार भीम ढुंगानालाई सघाउने, दोलखाको भीमेश्वर नगरपालिका प्रमुखमा माओवादी केन्द्रले कांग्रेसका उम्मेदवार ईश्वर मानन्धरलाई सघाउने तथा डोल्पाको ठूलीभेरी नगरपालिका प्रमुखमा माओवादी केन्द्रले कांग्रेसका उम्मेदवार सुवर्ण बुढालाई सघाउने सहमति भएको जानकारी उनले दिए ।

संयोजक लेखकले बिहीबार भएको उम्मेदवारी फिर्तामा नेपाली कांग्रेसको तर्फबाट बागी उम्मेदवार बनेका अधिकांश उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको भन्दै फिर्ता नलिएका उम्मेदवारलाई पार्टीले कडा कारबाही गर्ने स्पस्ट पारे ।

‘पहिलो चरणको निर्वाचनमा कांग्रेसले धेरै संख्यामा जनजातिलाई उम्मेदवार बनाएको छ’–उनले भने–‘२८३ स्थानीय तहमध्ये महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाको प्रमुखमा १०९ र उपप्रमुखमा ९७ जना जनजाति, मधेसी र दलितको उम्मेदवारी परेको छ ।’

नगरपालिका प्रमुखमा दुईजना तथा गाउँपालिका प्रमुखमा चार गरी ६ महिलाको उम्मेदवारी परेको कांग्रेसले जनाएको छ ।

पहिलो चरणमा प्रदेश नम्बर–३, ४ र ६ का चार महानगर, एक उपमहानगर, ९२ नगरपालिका र १८६ गाउँपालिकामा निर्वाचन हुँदैछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.