![]()
काठमाडौ,२१ बैशाख ।
वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्तासँगै गृह मन्त्रालयले पहिलो चरणको सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको छ। फागुन १८ मा गृहले निर्वाचनअघि, मतदान र मतदानपछि गरी २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्नेगरी तीन चरणको सुरक्षा योजना बनाएको थियो। प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी गरी एक लाख सुरक्षाकर्मी खटिएको गृह मन्त्रालयले जनाएको छ ।
गृहका अनुसार गोरखा, बाग्लुङ, नुवाकोट, पर्वत, काभ्रे, सिन्धुपाल्चोक, स्याङ्जा, म्याग्दी, धादिङ, लमजुङ, कास्की, चितवन, तनहुँ, मकवानपुर, रसुवा, सुर्खेत, नवलपरासी, सिन्धुली, दोलखा, रामेछाप, दैलेख, कालीकोट, जुम्ला, जाजरकोट, सुर्खेत, सल्यान, रुकुमलगायतका जिल्लामा मंगलबारबाटै संयुक्त सुरक्षा बेसक्याम्प बसिसकेको छ ।
९५ हजार सेना, ६० हजार प्रहरी, ३० हजार सशस्त्र र ७५ हजार म्यादी परिचालन गर्नेगरी गृहले सुरक्षा योजना बनाएको थियो । निर्वाचन २ चरणमा हुने भएपछि उसले आधा सुरक्षा जनशक्ति परिचालन गरेको छ । करिब ७५ हजार म्यादी प्रहरीमध्ये पहिलो चरणको निर्वाचनमा २५ हजार परिचालित हुनेछन् । ५० हजार म्यादी दोस्रो चरणको निर्वाचनमा खटिनेछन् ।
पन्थीका अनुसार २३ हजार प्रहरी र १८ हजार सशस्त्र प्रहरी निर्वाचन सुरक्षामा परिचालित भइसकेका छन् । पहिलो चरणमा करिब ४५ हजार सेना खटिएका छन् । केन्द्रीय सुरक्षा समितिले पारित गरिसकेको स्थानीय निकाय निर्वाचन सुरक्षासम्बन्धी योजना २०७३ मा निर्वाचनअगाडि, निर्वाचन अवधि र निर्वाचनपछि गरी तीन अवस्थासहित विस्तृत सुरक्षा योजना बनाएको थियो । योजनाको पहिलो चरणमा निर्वाचन कार्यालयको सुरक्षा, उम्मेदवार र दलका नेताको सुरक्षा, निर्वाचन सामग्रीको सुरक्षा, चुनावी अभियान व्यवस्थापन र सुरक्षा उल्लेख छ ।
दोस्रो चरणमा निर्वाचन सामग्री ढुवानी, निर्वाचन कार्यालयको सुरक्षा, मतदान केन्द्रको सुरक्षा छ भने तेस्रो चरणमा मतपेटिकाको ढुवानी र व्यवस्थापन, मतगणना केन्द्रको सुरक्षा र विजय जुलुस व्यवस्थापन छ । वैशाख ३१ मा मतदान हुने निश्चित भए पनि मतगणना कहिले हुने, टुंगो नभएकाले तेस्रो चरणको सुरक्षा योजनामा मतपेटिका ढुवानी र सुरक्षामा सुरक्षाकर्मी परिचालन गर्ने उल्लेख छ ।


