![]()
काठमाडौ,२१ बैशाख ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानन्यायाधिश सुशीला कार्की माथी लगाईएको महाअभियोगको विपक्षमा अभिएका छन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको पक्षमा आफू नभएको उल्लेख गर्दै सुरक्षित व्यवस्थापनको बाटो लिन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
त्यस्तो बाटो महाअभियोग प्रस्ताव फिर्ता या अरू केही विकल्प हुन सक्ने भन्दै पौडेलले तत्काल निर्णय लिन सभापति देउवालाई ध्यानाकर्षण गराएको स्रोतले बतायो । चुनावको मुखमा महाअभियोग प्रस्ताव दर्ता गरेर पार्टीलाई क्षति पुर्याउने काम भएको भन्दै पौडेलले त्यसलाई नसच्याए पार्टीलाई अप्ठ्यारो पार्ने बताए ।
महाअभियोग प्रस्ताव दर्ताको अघिल्लो दिन आफूसँग सामन्य परामर्श भए पनि दर्ता गर्ने बेलामा झुक्काइएको पौडेलले आफूनिकट नेतालाई बताउने गरेका छन् । महाअभियोगको प्रस्तावमा कांग्रेस एकढिक्का रहेको भन्ने भनाइप्रति पनि पौडेलले असहमति जनाए ।‘सभापतिजीसँग सामान्य परामर्श भएको केहीछिनमै उहाँले टेलिफोन गरेर महाअभियोग प्रस्ताव नल्याइने भयो भनेर खबर गर्नुभयो, तर भोलिपल्ट एकाएक दर्ता गरियो,’ पौडेलले भने ।
कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा पार्टी एकढिक्का रहेको सन्देश सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी दिन खोजिएको थियो । पत्रकार सम्मेलनमा पौडेललाई समेत बोलाइएको भए पनि उनी गएनन् । उनको साटो महामन्त्री शशांक कोइरालालाई पत्रकार सम्मेलनमा राखिएको थियो ।


