Breaking News.... EverestOnlineKhabar
April 27, 2026

Loading

मधेशी मोर्चा सहितको संघीय गठबन्धन चुनावमा सहभागी हुने शर्तमा सत्तापक्ष संविधान संशोधन विधेयक परिमार्जन गर्न तयार भएको छ।

दुबै पक्षबीच शुक्रबार दुई पटक भएको बैठकले परिमार्जन गर्ने सहमति गरेको हो।

त्यसको निम्ति कार्यदल बनाएका दुबै पक्षले शनिबार परिमार्जनको खाकालाई अन्तिम रुप दिने बताइएको छ।

यसअघि मोर्चा र गठबन्धनले सरकारले दर्ता गरेको संशोधन विधेयक अस्वीकार गर्दै आन्दोलन घोषणा गरेका थिए।

सत्तापक्ष लचिलो

मोर्चाका एकजना नेता शरतसिंह भण्डारीले भने, “सत्तापक्ष विगतभन्दा लचिलो बनेको छ, सहमतिको सम्भावना बढेको छ। संशोधन पारित भएमा हामी पनि चुनावमा जान तयार नै छौं।”

शुकबार बिहान भएको बैठकमा गठबन्धन र मोर्चाले मूलरुपमा विधेयकका तीनवटा प्रावधानमा परिमार्जनको प्रस्ताव गरेका थिए।

त्यसपछि दिउँसो सत्ताधारी दलहरुबीच परिमार्जन गर्न सकिने विषयमा छुट्टै बैठक भयो।

त्यसपछि साँझ पुन: दुबैपक्षबीच भएको बैठकले परिमार्जनको खाका तयार गर्न कार्यदल बनाएको थियो।

एमालेको साथ

सत्तापक्ष सकेसम्म प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई मान्य हुने गरी विधेयक परिमार्जन गर्न चाहन्छ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भाषा, प्रदेश सीमाङ्कनको हेरफेर र संघीय आयोगको प्रावधान लगायतका विषयमा परिमार्जन गर्ने संबन्धमा छलफल भैरहेको बताए।

 

एभरेष्ट अन्लाईन खबरसंग  कुरा गर्दै उनले कतिपय विषयमा एमालेको असहमति हुनसक्ने सम्भावना व्यक्त गरे।

उनले भने, “तर पनि पारित गराउने प्रयास गर्छौं, गठबन्धन चुनावमा आउने अवस्था हुन्छ भन्ने आशा छ।”

विधेयक पारित गराउन आवश्यक दुई तिहाइ बहुमत पुग्न विपक्षी गठबन्धनका कतिपय दल र सांसदको सहयोग अनिवार्य देखिन्छ।

सम्भावना

गठबन्धनले चुनावमा भाग लिन संशोधन हुनै पर्ने अडान छाडेको देखिन्न्।

सत्तापक्षले परिमार्जित विधेयक अघि बढाए पनि पारित नभएमा गठबन्धनले चुनावमा भाग लिन्छ त?

मोर्चाका नेता भण्डारीले त्यति टाढासम्म कुरा नभइसकेको प्रतिक्रिया दिए।

स्थानीय तहको संख्या बढाउने माग पनि गठबन्धनले राखेको छ।

असन्तुष्ट पक्ष चुनावमा जाने बाटो खुल्यो भने पनि वैशाख ३१ गतेको चुनावमा उनीहरुको सहभागिता प्राविधिक रुपले कठीन देखिन्छ।

तर सत्तापक्षले गठबन्धन चुनावमा जान तयार भएमा दुई चरणको चुनाव गर्ने विकल्पमा तयार रहेको बताउने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed