Breaking News.... EverestOnlineKhabar
April 26, 2026

चुनावप्रति गृहमन्त्रीको चिन्ताबारे निर्वाचन आयोग असहमत

Loading

स्थानीय तहको चुनाव एकैचरणमा सम्पन्न गर्ने तयारी अघि बढेका खबरमाझ गृहमन्त्री एवम् उपप्रधानमन्त्रीले सार्वजनिक गरेको चिन्ताबारे निर्वाचन आयोगले तीव्र असहमति व्यक्त गरेको छ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले आइतबार राती ट्विटर मार्फत सफल निर्वाचनका लागि आयोगको तयारी र सुरक्षा बन्दोबस्ती मात्र पर्याप्त नभएको बताएका थिए।

अन्योल

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघिय गठबन्धले संविधान संशोधन पहिले नभइ चुनाव हुन नसक्ने भन्दै आएको बेला तिनै मागप्रति सहमति जस्तो सुनिने गरि गृहमन्त्री विमलेन्द्र निधीले ट्विटरमार्फत निर्वाचनको वातावरणबारे असन्तुष्टि व्यक्त गरेका थिए।

“सुरक्षा बन्दोबस्ती र निर्वाचन आयोगको तयारी मात्र पर्याप्त छैनन्। निर्वाचनको सफलताका लागि दलहरुमाझ सम्वादद्वारा राजनीतिक समाधान खोजिनु अत्यावश्यक छ,” उनले आइतबार राती ट्विटरमार्फत भनेका छन्।

निर्वाचन तयारीबारे पटकपटक प्रतिवद्धता ब्यक्त भइरहेका बेला सरकारकै मन्त्रीवाट दुविधा उत्पन्न हुनेगरि अभिव्यक्ति आएको भन्दै आयोगले आश्चर्य व्यक्त गरेको छ।

आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले भने, “आयोग त्यो ट्विटप्रति सहमत छैन। मन्त्रीबाट त्यस्तो ट्विट आउनु एउटा आश्चर्यको विषय पनि हो।

पछिल्लो समय सत्तारुढ नेपाली कांग्रेसका केही अन्य नेताहरुले समेत राजनीतिक सहमतिका निम्ति स्थानीय तहको चुनाव दुई चरणमा गर्ने वा स्थानीय तहको निर्वाचन केही पछाडी सार्नुपर्ने धारणा राख्दै आएका छन्।

तयारी

असन्तुष्ट दलहरुलाई चुनावमा सहभागी गराउन त्यस्तो उपाय सुझाइएको भनिएपनि आयोगका अधिकारीहरुले भने एकै चरणमा बैशाख ३१ गते नै निर्वाचन सम्पन्न गर्न आफुहरु तयारी अवस्थामा रहेको बताएका छन्।

आयोगको भनाइप्रति सहमत देखिएका सूचना तथा संचारमन्त्री एवम् सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले भने, “अहिले नेपाललाई त्यस्तो सुरक्षा खतरा केही पनि छैन। निर्वाचन सम्पन्न गर्न गराउन सक्ने स्थितमा छौं। हामी सम्पूर्ण रुपले निर्वाचनको तयारीमा छौं।”

सरकार र आयोगको धारणा विपरित व्यक्त भएको भनिएको अभिव्यक्तिको आलोचना भएपछि गृहमन्त्री तथा उपप्रधानमन्त्री निधीले आफ्नो ट्विटको आशय त्यस्तो नभएको भनी प्रष्ट पार्ने प्रयत्न गरेका छन्।

सोमबारै उनले थप ट्विट गर्दै चुनाव लागि निर्वाचन आयोग र सुरक्षा निकायहरुको सम्पूर्ण तयारी भैसकेको उल्लेख गर्दै यी दुई पक्षको तयारी मात्र निर्वाचनका लागि पर्याप्त नहुने र राजनीतिक दलहरुको सहभागिताका निम्ति वार्ता र संवाद आवश्यक भएको जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed