Breaking News.... EverestOnlineKhabar
February 9, 2026

Loading

सिरियाली शहर अलेप्पो नजिकै घेराबन्दीमा परेका दुईवटा सरकार नियन्त्रित गाउँबाट हजारौं मानिसलाई अन्यत्र लगिरहेका गाडीमाथि बम आक्रमण गरिएको छ।

आक्रमणमा परेर कम्तीमा १६ जना मारिएको बताइएको छ।

ती गाडीहरु विद्रोही नियन्त्रित राशिदिन क्षेत्रमा रहँदा आक्रमण गरिएको थियो र आक्रमणमा परेर थुप्रै गाडी ध्वस्त भएका छन् र केहीमा आगो लागेको छ।

‘फोर टाउन्स’ अर्थात चार नगर भनिएको सो सहमति अन्तर्गत दुईवटा विद्रोही नियन्त्रित नगर र दुईवटा सरकार नियन्त्रित नगरमा घेराबन्दीमा परेका करिब ३० हजार मानिसलाई अन्यत्र सारिने छ।

दोषारोपण

इरान र कतारको मध्यस्थतामा गरिएको सो सहमति दमस्कसले भंग गरेको विद्रोहीहरु बताउँछन्।

सहमति भंग भएपछि सात हजारभन्दा बढी मानिस विपक्षी इलाकामा फँसेका छन्।

सरकारले उत्तर पश्चिमी फुआ र केफ्राया नगरबाट सहमति गरिएभन्दा बढी लडाकुहरु ल्याउन खोजेको उनीहरुको आरोप छ।

खराब मानिस

गत महिना संयुक्त राष्ट्रसंघले ती नगर र दमस्कस नजिकैका विद्रोही नियन्त्रित मदाया र जबादानी नगरको स्थितिलाई भयानक भनेको थियो।

त्यहाँ ६४ हजारभन्दा बढी सर्वसाधारण दिनदिनै हिंसा र अभावमा बाँचिरहेको राष्ट्रसंघले बताएको थियो।

अलेप्पोको एउटा बस ग्यारेजमा शुक्रबार रातिदेखि पर्खिरहेका मदायाका एकजना बासिन्दाले त्यहाँ खाना र पानी नभएको र आफूहरु दुःखी र रुष्ट भएको बताएका छन्।

उनीहरुलाई विद्रोही नियन्त्रित इद्लिब प्रान्तमा लगिनुपर्ने थियो।

प्रतीक्षा

विस्फोटको खबर प्राप्त हुनुअघि एएफपी समाचार संस्थाका एकजना संवाददाताले ती गाडीहरु ३० घण्टादेखि कतै नगएको बताएका छन्।

तीन हजार सात सय सर्वसाधारण लगायतका पर्खिरहेका यात्रुलाई सिरियन अबर रेड क्रेसण्टले खाना र पानी बाँडिरहेको थियो।

ती चार नगरमा खाना र पानीको अभावमा थुप्रैको मृत्यु भइरहेको बताइएको छ।

घेराबन्दी

धेरैजसो शिया बासिन्दा भएका फुआ र केफ्राया नगरलाई सन् २०१५ को मार्च महिनादेखि विद्रोही र अल कायदासँग सम्बन्धित सुन्नी जिहादीहरुले घेरेका छन्।

सुन्नी बाहुल्य रहेका मदाया र जबादानी सन् २०१५ को जुन महिनादेखि सिरियाली सेना र लेबननको शिआ हेज्बुल्लाह समूहको कब्जामा छन।

गत डिसेम्बर महिनामा गरिएको स्थानान्तरण सहमति विद्रोहीहरुले सवारीसाधनमा आगजनी गरेपछि असफल भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.