![]()
काठमाडौं, बैशाख १ । नयाँ वर्षकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व राजा ज्ञानेन्द्र शाहलगायतले देश विदेशमा रहेका नेपालीलाई शुभकामना दिएका छन् ।

राष्ट्रपति भण्डारीले दिएको शुभकामना सन्देशमा राजनीतिक परिवर्तनमार्फत प्राप्त ऐतिहासिक उपलब्धिसँगै देशमा आर्थिक-सामाजिक समृद्धितर्फको यात्रा अगाडि बढाउने र राष्ट्रलार्ई आत्मनिर्भर बनाउने हामी सबैको साझा जिम्मेवारी रहेको उल्लेख गरिएको छ ।
देशमा भएको प्रचूर प्राकृतिक सम्पदालाई समुचित प्रयोग गर्दै आफ्नै पौरखले मुलुकलाई समृद्ध एवं सम्मुनत वनाउने दायित्व हाम्रो काँधमा आएकाले नयाँ सोच, शैली र गन्तव्यसहित अगाडि बढ्न नयाँ वर्षले प्रेरित गरोस् राष्ट्रपतिले भनेकी छन् ।
नयाँ बर्षको पूर्व सन्ध्यामा पूर्व राजा ज्ञानेन्द्र शाहले दिएको शुभकामना सन्देशमा भने नेपालको सार्वभौमिक स्वतन्त्रता र प्रजातन्त्रमाथि खतरा देखिएको दाबी गरिएको छ ।
पूर्व राजाले राजनीतिक क्षेत्रप्रतिको भरोसा जनतामा टुट्दै गएकाले देशको राष्ट्रियता र सबल एकता खल्बलिने त्रास बढेको जिकीर गरेका हुन् ।
०६३ सालमा शान्ति र समृद्धिको आशासहित तत्कालिन संसद पुनस्थापना गरेको उल्लेख गर्दै उनले तर राजनीतिक दलहरुले सहमति अनुसार काम नगरेको आरोप लगाएका छन् ।
‘संसद पुनस्थापनापछि सहमति विपरितका कामहरु हुदै जाँदा पनि देशको समृद्धि र जनताको हितलाई ख्याल गर्दै हामीले मौनतापूर्वक साथ दिएका हौं’ सन्देशमा भनिएको छ ।
तर मुलुकमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलन बिगारिएको उल्लेख गर्दै पूर्व राजाले विश्वमा प्रचलित प्रजातान्त्रिक मूल्य, मान्यता र मर्म विपरितका ब्यवहार राजनीतिक तहबाट प्रकट भईरहेको आरोप लगाएका छन् ।
हिमाल, पहाड र तराइ नै नेपालको विश्व परिचय हो भन्ने वास्तविकतालाई आत्मसात गरी ब्यवहार गर्न नसक्दा नेपाली नेपालीबीच शंकाको वातावरण बढेको स्मरण गराउँदै उनले सन्देशमा सनातन धर्म र निष्ठामा आधारित जीवन मूल्यलाई क्षतविक्षत बनाउने अदृष्य चालबाजीले नेपालको प्रजातन्त्र र सार्वभौम स्वतन्त्रतामाथि आँच पुर्याउने खतरा बढेको जिकीर गरेका छन् ।

