Breaking News.... EverestOnlineKhabar
February 9, 2026

अमेरिकाद्वारा सबैभन्दा शक्तिशाली बम प्रहार

Loading

अमेरिकी सेनाले अफगानिस्तानमा इस्लामिक स्टेट समूह विरुद्ध हालसम्मकै सबैभन्दा शक्तिशाली गैर परमाणु बम प्रहार गरेको छ।

पेन्टागनले अहिलेसम्म कुनै पनि द्वन्द्वमा प्रयोग गरेमध्येको सबैभन्दा शक्तिशाली उक्त बमको शक्ति ११ टन टिनटी बराबर भएको बताइएको छ।

‘मदर अफ अल बम्स’ भनिने उक्त बम इस्लामिक स्टेटले प्रयोग गर्ने गुफाहरुलाई लक्षित गरी पूर्वी अफगानिस्तानको नाङ्गहार प्रान्तमा खसालिएको थियो।

शक्तिशाली

एक जना स्थानीय गभर्नरले बिस्फोटन भएको ठाउँमा निक्कै उचाईसम्म आगोको लप्का देखिएको बताए।

अमेरिकी विमानमार्फत अफगानिस्तानको नाङ्गहार प्रान्तस्थित आचिन जिल्लामा झण्डै नौ मिटर लामो उक्त बम खसालिएको थियो।

पाकिस्तानी सीमा नजिकै अवस्थित गुफै गुफा रहेको उक्त दुर्गम पहाडी क्षेत्रमा पातलो मानवबस्ती रहेको बताइन्छ।

  

ह्वाइट हाउसका प्रवक्ता सन स्पाइसर भन्छन्, “हामीले सुरुङ र गुफाहरुलाई निशाना बनायौँ जून इस्लामवादी जिहादीहरुले निर्वाध हिडँडुल गर्न प्रयोग गर्थे र त्यहाँ लुकेर अमेरिकी तथा अफगान फौजलाई आक्रमण गरिरहन्थे। अमेरिकाले इस्लामिक स्टेट विरुद्धको लडाईंलाई गम्भिरतापूर्वक लिएको छ र उनीहरुलाई पराजीत गर्न उनीहरुको क्षमता कमजोर बनाउनैपर्छ।”

स्थानीय समय साँझको साढे सात बजे तिर प्रहार गरिएको उक्त बम बिस्फोटनको अवाज दुई वटा छिमेकी जिल्लाहरुमा सुनिएको जनाइएको छ।

क्षति

अमेरिकी अधिकारीले विस्फोटनको परिणामबारे केहि बताएका छैनन् तर एक जना स्थानीय अधिकारीले एक जना जिहादी नेताका भाई सहित दर्जनौँ मारिएका छन्।

एकदमै ठूलो र भूउपग्रह प्रणालीबाट निर्देशित उक्त बम कुनै पनि फौजी कारबाहीमा पहिलो पटक प्रयोग गरिएको ठानिएको छ।

बिशेष किसिमको विमानबाट प्यारेसुट मार्फत खसाइने उक्त बमले ठूलो भूभागमा बिस्फोटन गराउने समार्थ्य राख्छ।

बीबीसीका रक्षा तथा कुटनीतिक संवाददाता जोनाथन मार्कस भन्छन् अफगानिस्तानमा प्रहार गरिएको बम अमेरिकी सेनासँग भएको सबैभन्दा शक्तिशाली परम्परागत किसिमको हतियार हो।

उनका अनुसार ट्रम्प प्रशासनको अफगानिस्तान नीति अझै पनि विचाराधीन छ तर पछिल्लो आक्रमणले इस्लामिक स्टेटका जुन सुकै स्थानमा रहेका निशानामा आक्रमण गर्न अमेरिका तत्पर रहेको शक्तिशाली सन्देश दिएको छ।

प्रतिक्रिया

अफगानिस्तानमा रहेका अमेरिकी फौजका कमान्डर जेनरल जन निकोलसनले इस्लामवादी जिहादीहरु विरुद्धको लडाइंलाई तीव्र पार्न उक्त बम ‘सही हतियार’ भएको बताए।

अफगानिस्तानको राष्ट्रपति कार्यालयका एक जना प्रवक्ताले सो विस्फोटले ठूलो क्षति गराएको जनाए।

तर पूर्व राष्ट्रपति हमिद कारजाईले उक्त बमको प्रयोगलाई अमानवीय भन्दै निन्दा गरेका छन्।

उनले अमेरिकाले अफगानिस्तानलाई प्रयोगशाला बनाएको भन्दै अमेरिकालाई रोक्न अफगानहरु नै लाग्नुपर्ने धारणा राखे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.