![]()
काठमाडौ,२३ चैत ।
मुलुकको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले स्थानीय चुनाव लक्षित रणनीति तयार पारेको छ । कांग्रेसको मेरुदण्डको रुपमा रहेको भातृसंगठन नेपाल विद्यार्थी संघ(नेविसंघ) ले माउ पार्टी नेपाली कांग्रेसलाई चुनावमा विजयी गराउन चुनाव लक्षित विशेष रणनीति तयार पारेको हो । माउ पार्टी नेपाली कांग्रेसलाई स्थानीय तहको चुनावमा विजयी गराउन नेपाल विद्यार्थी संघ विशेष तयारीका साथ गाउँ गाउँ पस्ने भएको हो ।
संघका अध्यक्ष नैनसिंह महरको अध्यक्षतामा सम्पन्न केन्द्रीय समिति वैठकले स्थानीय निर्वाचनलाई लक्षित गरि देशभरका ७ सय ४४ वटै स्थानीय तहमा एकैसाथ निर्वाचन परिचालन तथा प्रशिक्षण विशेष अभियान संचालन गर्ने निर्णय गरेको छ । नेविसंघ केन्द्रीय समितिको उक्त निर्णयलाई नेपाली कांग्रेस निर्वाचन परिचालन समितिले समेत अनुमोदन गरिसकेको छ ।
नेवि संघको ४८ औं स्थापना दिवशको अवसरलाई स्थानीय तहको निर्वाचनलाई सघाउने गरी देशभरका करिब १५ हजार शिक्षालयबाट १० जनाका दरले सहभागी हुने गरि अभियान सञ्चालन गर्न लागेको अध्यक्ष नैनसिंह महरले जानकारी दिए । अध्यक्ष महरका अनुसार खटिएका प्रतिनिधिको सहभागितामा महानगरका वडा, उपमहानगर, नगर र गाउँ पालिकाको सदरमुकामहरुमा वैशाख ६ गते कार्यक्रम सम्पन्न गर्ने छ । ५५ सय प्रशिक्षकले चुनावी मुद्दा र रणनीतिका बारेमा १ लाख ५० हजारलाई प्रशिक्षण दिने अध्यक्ष महरले जानकारी दिए ।
अध्यक्ष महरले भनेः‘ हाम्रै नेतृत्वमा शान्ति र संविधान, हाम्रै नेतृत्वमा समृद्धिको अभियान भन्ने कांग्रेसको मूल ऐजेन्डालाई कार्यान्वयन गर्न जनताको साथ चाहिएको र कांग्रेसलाई विजयी गराउन जनताको घरदैलोमा पुग्ने लक्ष्य छ । नेवि संघले वैशाख ११ गते लोकतन्त्र विदशका दिन १५ हजार शिक्षालयबाट ३० प्रतिशत विद्यार्थीलाई पुर्नजागरण निर्वाचन परिचालन अभियानमा सहभागी गराउने छ ।’
लोकतन्त्र विदशका दिन ४ लाख ५० हजार विद्यार्थी निर्वाचन गतिविधिमा संलग्न भएर निर्वाचनको दिनसम्म सम्बन्धित स्थानीय पालिकामा सक्रिय रहने नेवि संघका उपाध्यक्ष पुष्पकुमार शाहीले जानकारी दिए ।
यो अभियानको पहिलो दिन नेपाली कांग्रेस र पार्टीका अन्य भातृ संगठनले यसलाई एकमतले सफल पार्न अभियानसँग जुध्ने अन्य कार्यक्रम नगर्ने योजना नेविसंघको छ ।


