![]()
बारा । पूर्वप्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले कांग्रेस, माओवादी र मधेशवादी दलहरुलाई मधेशका पक्षमा काम गरेको एउटा मात्रै भएपनि प्रमाण पेश गर्न चुनौती दिनुभएको छ ।
चुनावी प्रचार अभियानकाक्रममा बाराको कोहल्विमा आयोजित आमसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले एमालेबिरुद्ध मधेशमा भ्रम छर्ने कांग्रेस, एमाले र मधेशवादी दलहरुले मधेशलाई नै ठगेको आरोप लगाउनुभयो । उहाँले एमाले नेतृत्वमा बनेका सबै सरकारले मधेशलाई उच्च प्राथमिकतामा राखी विकासका गतिविधि अघि बढाएको दावी गर्नुभयो । अब भने प्रदेश नम्बर २ का जनता भ्रमको जालोबाट मुक्त भैसकेको उहाँले बताउनुभयो । एमालेका एजेण्डा, एमालेले लिएको नीति र यसले गरेकाका कामहरुले मधेशको ठेकदार आफै हुँ भन्ने दलहरुसंग जनताको मोह भंग भएको उहाँले उल्लेख गर्नुभयो ।
नेता खनालले मधेशमा एमालेले गरेका आमसभामा देखिएको उपस्थितिबाटै एमालेको शक्ति अन्दाज गर्न सकिने बताउँदै प्रदेश नम्बर २ मा को मा जितको आधार छर्लङ्ग देखिएको बताउनुभयो । एमालेलाई आन्तरिक र बाह्यरुपमा जतिसुकै घेरावन्दी गर्न खोजिएपनि अब यो जीतको वेगलाई कसैले रोक्न नसक्ने उहाँले बताउनुभयो ।सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रप्रति निकै आक्रामक देखिनु भएका नेता खनालले भन्नुभयो, ‘मेरो नेतृत्वको सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको आधारमा नागरिकता दिने निर्णय गरेको हो, त्यो निर्णय गर्दा कांग्रेसले आपत्ति जनाएको थियो,’ खनालले भन्नुभयो , ‘मधेशका सवै नागरिक ढुक्क भए हुन्छ, नेकपा एमाले रहेसम्म नेपाली भुमीमा रहेका कुनै पनि नागरिक नागरिकता बिहीन हुने छैनन, हामी नागरिकता दिलाएरै छाडछौं ।’
बिदेशीलाई भने कुनै हालतमा नेपाली नागरिकता दिन नसकिने बटम लाइन उहाँले सुनाउनु भयो । ‘नेपालको भूमीभित्र बस्ने कुनै पनि नागरिक नागरिकता बिहिन हुने छैनन, कुनै पनि बिदेसीले नेपाली नागरिकता पाउने छैनन,’ खनालले भन्नुभयो ।

राष्ट्र र राष्ट्रियताप्रति एमाले सदैव इमान्दार रहेको कुरा इतिहासले पुष्टि गरेको उल्लेख गर्दै नेता खनालले मुलुकको अस्तित्व र लोकतन्त्र जोगाउन हिजोको दिनमा फुटेर दुई फ्याक भएको गिरिजा कांग्रेस र देउवा कांग्रेसलाई एमालेले मिलाइदिएको दावी गर्नुभयो । मुलुकमा भएका हरेक परिवर्तनमा एमालेले राष्ट्रियतालाई केन्द्रबिन्दुमा राखेर काम गरिरहेकाले अन्य दलहरु यसबाट तिलमिलाएर जथाभावी बोल्न थालेको टिप्पणी गर्नूभयो ।
नेता खनालले मुलुक भित्रका आदिवासी जनजाती, मधेशी, दलित, महिला सबैलाई अधिकार दिलाउन एमालेले नेतृत्वदायी भूमिका खेलेको स्मरणसमेत गर्नुभयो । उहाँले एमाले मुलुक र जनताप्रति पूर्ण जवाफदेही पार्टी भएकाले बहुमत दिएर जिताउन अपिल समेत गर्नुभयो ।


