![]()
सिरहा,३० भदौ ।
सिरहामा नेपाली कांग्रेसका उम्मेदवारको गाडीमा अज्ञात समूहले बिहीबार राति आगो लगाइदिएको छ । गोलबजार नगरपालिका–७ बाट नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार हरिनारायण सिंह महतोले प्रयोग गर्दै आएको बीआर १ एफ १६०५ नम्बरको स्करपियो गाडीमा पेट्रोल छर्केर आगो लागाएको प्रहरीले जनाएको छ ।
आउँदो असोज २ गते हुन लागेको स्थानीय तहको चुनावको प्रचारप्रसारको लागि ल्याएको गाडी पूर्व पश्चिम लोकमार्गसँगै रहेको चोहर्वामा राखिएको अवस्थामा राति ९ बजेतिर आगजनी भएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर राजेन्द्र कुमार उपाध्यायले जानकारी दिनुभयो ।
आगजनीबाट गाडीमा समान्य क्षति भएको प्रहरीले जनाएको छ । दुई जनाको समूहमा मोटरसाइकलमा आएका ब्यक्तिले दलकै झण्डामा पेट्रोल छर्केर आगो लगाई फरार भएको प्रहरीको भनाई छ । घटनाबारे अनुसन्धनन भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहको आशंकामा प्रहरीले दुई जनालाई पक्रेको छ । उनीहरुको परिचय प्रहरीले गोप्य राखेको छ ।


